काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा चुनावका लागि जारी आचारसंहिता उल्लङ्घन गरेको विषयमा २१ वटा स्पष्टीकरण सोधेको छ। आयोगले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै माघ ५ गतेदेखि लागू भएको निर्वाचन आचारसंहिता २०८२ को पालना नगर्ने उम्मेदवार, व्यक्ति, संस्था र पदाधिकारीहरूसँग स्पष्टीकरण माग गरिएको जानकारी दिएको हो।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार माघ १४ गतेसम्म सोधिएका २१ वटा स्पष्टीकरणमध्ये हालसम्म पाँच वटाको मात्र जवाफ प्राप्त भएको छ। बाँकी रहेका उम्मेदवार र संस्थाहरूलाई जवाफका लागि ताकेता भइरहेको र सबै क्षेत्रमा निर्वाचन आचारसंहिता अनुगमन अधिकृतहरू समेत तोकिसकिएको उनले बताए।
निर्वाचनका बेला फैलाइने मिथ्या तथा भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्तिको निगरानी गर्न आयोगले ‘निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र’ स्थापना गरेको छ। यस अन्तर्गत रहेको सूचना सदाचार प्रवर्द्धन इकाईले हालसम्म ३०२ वटा हानिकारक सूचनाहरू फेला पारेको प्रवक्ता भट्टराईले जानकारी दिए। ती सामग्रीहरूलाई विद्युतीय कारोबार ऐन र प्रेस काउन्सिल ऐन बमोजिम कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको छ।