विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि कोशी प्रदेशका २८ वटै निर्वाचन क्षेत्रमा राजनीतिक सरगर्मी उत्कर्षमा पुगेको छ । माघ ६ गते उम्मेदवारी दर्ता भएसँगै प्रमुख दलहरू आ-आफ्नो विरासत जोगाउने र नयाँ शक्तिहरू त्यो विरासत भत्काउने कसरतमा जुटेका छन् ।
२०७९ को निर्वाचनमा एमालेले १४ सिट जित्दै कोशीमा आफ्नो बलियो पकड देखाएको थियो भने कांग्रेस ९ सिटमा खुम्चिएको थियो । यसपटकको समीकरण र मैदानमा उत्रिएका नयाँ खेलाडीका कारण नतिजा रोचक हुने देखिएको छ ।
२०७९ को नतिजा र अहिलेको दाबी
गत निर्वाचनमा एमालेले ताप्लेजुङ, पाँचथर, इलामका दुवै क्षेत्र, झापाका ३ (२, ४ र ५), मोरङको २, सुनसरीको २ र ३, धनकुटा, सोलुखुम्बु र उदयपुर–२ मा जित निकालेको थियो । एमाले सचिव हिक्मतकुमार कार्की र कोशी इन्चार्ज शेरधन राई यसपटक बहुमत सिट जित्ने दाबी गर्छन् । कार्की भन्छन्, ‘हामी कम्तीमा १८ सिटमा जित निकाल्छौँ ।’ यद्यपि, पार्टीभित्रै कतिपयले १०–१२ सिट सुरक्षित गर्न पनि कडा प्रतिस्पर्धा गर्नुपर्ने विश्लेषण गरेका छन् ।
नेपाली कांग्रेसले गत निर्वाचनमा झापा–१, मोरङका १, ३ र ६, सुनसरी–४, उदयपुर–१, तेह्रथुम, संखुवासभा र ओखलढुंगामा जित हासिल गरेको थियो । कांग्रेस प्रदेश महामन्त्री भूपेन्द्र राई टिकट वितरणमा विवाद नभएकाले यसपटक कांग्रेस पहिलो पार्टी बन्ने जिकिर गर्छन् । तर, पार्टीभित्रको आन्तरिक गुटबन्दी र घातप्रतिघातको डर नेताहरूमा अझै देखिन्छ ।
तेस्रो शक्ति र नयाँ चुनौती
अघिल्लो पटक मोरङ–४, भोजपुर र खोटाङ गरी ३ सिट जितेको तत्कालीन माओवादी (हालको नेकपा) ले यसपटक सिट संख्या बढाएर ७ पुर्याउने दाबी गरेको छ । नेता इन्द्रबहादुर आङ्बो र शिवकुमार डाँगीका अनुसार वाम एकताका कारण कम्युनिष्ट कार्यकर्तामा उत्साह थपिएको छ ।
यता, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले ठूला दलका लागि मुख्य चुनौती खडा गरेका छन् । रास्वपाका नेताहरू तेजलाल कर्ण र लालविक्रम थापाले युवा उम्मेदवार एवं परिवर्तनको नाराका कारण बहुमत (१९ सिटसम्म) जित्ने दाबी गरेका छन् । विशेषगरी तराईका झापा, मोरङ र सुनसरीमा रास्वपाको बढ्दो प्रभावले एमाले एवं कांग्रेसको आधार क्षेत्रमा ‘हमला’ गरेको विश्लेषण हुन थालेको छ ।
राप्रपा र अन्यको दाउ
झापा–३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन आफ्नो विरासत जोगाउने दाउमा छन् । विगतमा एमालेको साथ पाउँदै आएका लिङ्देन र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच यसपटक पनि अनौपचारिक सहमतिको चर्चा छ । त्यस्तै, मोरङ–५ बाट स्वतन्त्र जितेका योगेन्द्र मण्डल र श्रम संस्कृति पार्टीका उम्मेदवारहरूले पनि चुनावी मैदानलाई त्रिकोणात्मक र बहुकोणात्मक बनाएका छन् ।
विगतको विरासत जोगाउन एमाले र कांग्रेसलाई यसपटक निकै सकस पर्ने देखिन्छ । पहाडी क्षेत्रमा ‘माटो’ (श्रम संस्कृति पार्टी) र सहरी क्षेत्रमा ‘घण्टी’ (रास्वपा)को बढ्दो क्रेजले पुराना दलहरूको टाउको दुखाइ बढाएको छ । फागुन २१ को नतिजाले कोशी प्रदेशको राजनीतिक चित्र कस्तो कोर्ने हो, त्यो भने हेर्न बाँकी नै छ ।