बलिदानको स्मरणमा सहिद दिवस मनाइँदै

काठमाडौं । देश र जनताको हितका लागि जीवन आहुति दिने सहिदहरुको सम्झनामा आज (शुक्रबार) देशभर विभिन्न कार्यक्रमको आयोजना गरी सहिद दिवस मनाइँदैछ ।

प्रजातन्त्र, स्वतन्त्रता र नागरिक अधिकारका लागि संघर्ष गर्ने एवं बलिदान दिने ज्ञातअज्ञात सबै सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै यो दिवस मनाउने गरिन्छ । नेपालको राजनीतिक इतिहासमा निर्णायक मोड ल्याउने ४ महान् सहिदहरु धर्मभक्त माथेमा, दशरथ चन्द्र, गंगाला श्रेष्ठ र शुक्रराज शास्त्रीको बलिदानलाई केन्द्रमा राखेर सहिद दिवस मनाइन्छ ।

राणा शासनको निरंकुशताविरुद्ध आवाज उठाउँदा तत्कालीन शासकले उनीहरूलाई मृत्युदण्ड दिएको थियो । उनीहरूको साहस, अडान र बलिदानले नै नेपालमा जहानियाँ राणा शासनको अन्त्य र प्रजातन्त्रको स्थापना सम्भव भएको ऐतिहासिक तथ्य अहिले पनि उत्तिकै सान्दर्भिक छ ।

सहिद दिवस प्रत्येक वर्ष माघ १६ गते मनाइँदै आएको छ । यो दिन विगतको स्मरणमा सीमित नभएर प्रजातन्त्र स्थापना, पुनःस्थापना र विभिन्न कालखण्डमा स्वतन्त्रता, अधिकार र न्यायका लागि ज्यान अर्पण गर्ने सबै सहिदको योगदानलाई सामूहिक रूपमा सम्झने अवसरका रूपमा लिइन्छ ।

यही भावना अनुरूप सरकारले माघ १० देखि १६ गतेसम्म ‘सहिद सप्ताह’ घोषणा गर्दै विविध कार्यक्रम गर्दै आएको छ । १९९७ साललाई राणा शासनविरुद्धको संघर्षमा निर्णायक वर्षका रूपमा चिनिन्छ ।

स्वतन्त्रताको माग गर्दा शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको टेकुस्थित पचलीमा फाँसी दिइयो । त्यसपछि माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा मृत्युदण्ड दिइयो । माघ १५ गते गंगालाल श्रेष्ठ र दशरथ चन्द्रलाई शोभाभगवतीमा फाँसी दिइएको थियो । यी घटनाले तत्कालीन समाजलाई नराम्ररी झस्कायो र राणा शासनविरुद्ध जनआक्रोश झन् तीव्र बन्यो ।

सहिदहरुको बलिदान सत्ता परिवर्तनको आधार मात्रै बनेन । यसले नेपाली समाजमा चेतना, प्रतिरोध र अधिकारको भावनालाई मजबुत बनायो । त्यसैको परिणामस्वरूप राजनीतिक जागरण फैलियो र अन्ततः २००७ सालको प्रजातान्त्रिक आन्दोलन सफल हुन पुग्यो ।

नेपालमा प्राप्त लोकतान्त्रिक अधिकार, अभिव्यक्ति स्वतन्त्रता र नागरिक स्वतन्त्रताको जगमा ती सहिदहरुको रगत मिसिएको छ भन्ने तथ्यलाई राज्य र समाज दुवैले स्वीकार गर्दै आएका छन् । सहिद दिवसका अवसरमा काठमाडौंसहित देशका विभिन्न भागमा सहिद स्मारकमा माल्यार्पण, श्रद्धाञ्जली सभा, विचार गोष्ठी, सांस्कृतिक कार्यक्रम र शैक्षिक गतिविधि आयोजना गरिँदैछ ।

विभिन्न राजनीतिक दल, सामाजिक संघसंस्था, शैक्षिक प्रतिष्ठान र स्थानीय तहले पनि आआफ्नो तहबाट कार्यक्रम आयोजना गरेका छन् । यी कार्यक्रमहरूमा सहिदको आदर्श, त्याग र वर्तमान पुस्ताको जिम्मेवारीका बारेमा चर्चा हुने गरेको छ ।

सहिद दिवस औपचारिक कार्यक्रम र भाषणमा सीमित नहोस् भन्ने अपेक्षा पनि व्यापक रूपमा व्यक्त हुँदै आएको छ । सहिदहरुले देखाएको सपना, न्यायपूर्ण समाज, सुशासन, समान अवसर र जनउत्तरदायी राज्यलाई व्यवहारमा उतार्नु नै उनीहरूप्रति साँचो श्रद्धाञ्जली हुने सरोकारवालाहरूको भनाइ छ । सहिद दिवसको दिनले राज्य सञ्चालनमा रहेकाहरूलाई पनि आफ्नो कर्तव्य र जिम्मेवारीप्रति आत्मसमीक्षा गर्ने अवसर दिएको छ।

सहिद दिवसलाई नेपाली इतिहासको स्मरणीय दिन मात्रै नभएर वर्तमान र भविष्यलाई सही दिशामा डोर्याउने संकल्पको रूपमा पनि मनाइँदै आएको छ । सहिदहरुको बलिदानको मूल्य कागजमा सीमित राख्न हुँदैन र व्यवहारमा देखिनु नै आजको सबैभन्दा ठूलो चुनौती र दायित्व हो ।

2Shares
facebook sharing button
twitter sharing button
pinterest sharing button
sharethis sharing button
तपाइको प्रतिक्रिया