सुनसरीमा आगलागी भएकाे ट्याक्टरबाट हामफाल्दा महिलाको मृत्यु

विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ खुनगाउँस्थित भित्री सडक खण्डमा गुडिरहेको ट्याक्टरमा अचानक आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ ।

आफ्नै घरका लागि माटो बोकेर ल्याउँदै गरेको नम्बर प्लेट स्पष्ट नभएको ट्याक्टरको इन्जिनमा बिहीबार दिउँसो १५ः४० बजे अचानक आगलागी भएको थियो । आगलागी भएलगत्तै ट्याक्टर चालक बराहक्षेत्र नगरपालिका–४ का ६० वर्षीय रामेश्वर मुसहरले ट्याक्टर रोकी पानी खन्याएर आगो निभाउने प्रयास गरेका थिए । सोही क्रममा ट्याक्टर अचानक गुड्न थालेपछि ट्याक्टरको ट्रलीमा बसिरहेकी चालककी श्रीमती ५५ वर्षीया फुलियादेवी सदा आत्तिएर गुडिरहेको ट्रलीबाट बाहिर हामफालेकी थिइन् ।

ट्रलीबाट हामफाल्ने क्रममा लडेर गम्भीर घाइते भएकी फुलियादेवीलाई तत्काल उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । अस्पतालमा उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।

स्थानीय बासिन्दाको सहयोगमा ट्याक्टरमा लागेको आगो पूर्ण रूपमा नियन्त्रणमा आएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धानका लागि प्रहरीले ट्याक्टर चालक रामेश्वर मुसहरलाई नियन्त्रणमा लिएको छ ।