बालेन शाहको घरमा चोरी: सीसीटीभी र धाराका टुटी समेत लगे

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका पूर्वमेयर एवं रास्वपाका वरिष्ठ नेता बालेन शाहको मण्डिखाटारस्थित घरमा चोरी भएको छ। बालेन र उनकी पत्नी घरमा नभएको मौका छोपी चोरहरूले धनमाल चोरेका हुन्। शुक्रबार साँझ बालेनका मामा ससुराका छोरा घर पुग्दा मूल ढोका फोडिएको र सामानहरू तितरबितर भएको देखेपछि चोरी भएको रहस्य खुलेको हो। उनी नियमित रूपमा घरमा बत्ती बाल्ने र बिरुवामा पानी हाल्न जाने गर्थे।

प्रहरीका अनुसार चोरहरूले घरमा जडान गरिएका २–३ वटा सीसीटीभी क्यामेरा, फुटेज रेकर्ड हुने डीभीआर मेसिन र बाथरुम तथा भान्साका धाराका टुटीहरू समेत चोरेर लगेका छन्। अन्य के–कति सामान चोरी भयो भन्नेबारे विवरण खुल्न बाँकी छ। घटनाको जानकारी पाएलगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालय, महाराजगञ्ज प्रहरी वृत्त र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली अनुसन्धानमा खटिएको छ। अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले एक इन्स्पेक्टरको नेतृत्वमा विशेष टोली बनाएर अनुसन्धान भइरहेको बताए।