सहुलियतको मल कालाबजारी गर्ने कृषि सहकारी खारेज

उदयपुर। कृषकका लागि आएको सहुलियतको सरकारी मल कालाबजारी गर्ने उदयपुरको कटारीस्थित एक कृषि सहकारी प्रहरीको फन्दामा परेको छ। कटारी नगरपालिका–३ मा रहेको दुर्गा भवानी कृषि सहकारीले कृषकका लागि ल्याएको मल सिन्धुलीमा लगेर बिक्री गरेको फेला परेको हो। नगरपालिकाको सिफारिसमा सहुलियत दरमा ल्याइएको एक ट्रिपर मल शुक्रबार सिन्धुलीको दुधौलीस्थित एक गोदाममा झार्दै गरेको अवस्थामा किसान संघर्ष समितिले फेला पारेको थियो।

नगर प्रमुख राजेशचन्द्र श्रेष्ठका अनुसार मल बेच्ने सहकारी सञ्चालक, गोदाम सञ्चालक र ट्रिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। कृषकको नाममा सस्तोमा मल खरिद गर्ने र नाफा खाएर बाहिरका गोदामहरूलाई बेच्ने गरेको पाइएपछि नगरपालिकाले उक्त सहकारी खारेज गर्ने निर्णय गरेको छ। घटनामा संलग्न सहकारी सञ्चालकहरू पेशल भट्टराई र हीरा बास्तोला कारबाहीको दायरामा आएका छन्। यसअघि पनि मल कालाबजारी गरेको आरोपमा सन्तोष दाहालको गोदाम खारेजीमा परेको थियो।