विराटनगर । भारतका चर्चित गायक अरिजीत सिंहले पार्श्वगायनबाट अलग हुने घोषणा गरेपछि उनका प्रशंसकहरू अचम्मित भएका छन्।
मंगलबार साँझ सामाजिक सञ्जालमार्फत उनले पार्श्वगायन छाड्ने जानकारी दिएका हुन्। यद्यपि, संगीतसँगको आफ्नो सम्बन्ध भने निरन्तर रहने र संगीत सिर्जनामा सक्रिय रहने उनले स्पष्ट पारेका छन्।
अरिजीतले निर्देशक अनुराग बसुका ‘बर्फी’, ‘जग्गा जासूस’, ‘लुडो’ र ‘मेट्रो इन डिनो’ जस्ता चलचित्रमा गीत गाएका थिए, जसका धेरै गीत सुपरहिट बने। यस विषयमा अनुराग बसुले बीबीसी हिन्दीलाई प्रतिक्रिया दिँदै अरिजीतको निर्णय आफूलाई अनौठो नलागेको बताए। “उनी अत्यन्तै प्रतिभाशाली छन् र जीवनमा गायनबाहेक धेरै कुरा गर्न चाहन्छन् भन्ने मलाई पहिलेदेखि नै थाहा थियो,” अनुरागले भने।
अनुरागका अनुसार अरिजीत फिल्म निर्माणमा गहिरो रुचि राख्छन्। ‘बर्फी’ निर्माणका क्रममा उनले आफूलाई सहायकका रूपमा काम गर्न प्रस्तावसमेत गरेको र भविष्यमा स्कुल खोल्ने तथा बालबालिकासँग समय बिताउने योजना रहेको उनले बताए।
बीबीसी हिन्दीका अनुसार अरिजीतले निर्देशकका रूपमा आफ्नो पहिलो हिन्दी फिल्ममा काम सुरु गरिसकेका छन्। जंगल एडभेन्चर शैलीको उक्त चलचित्रमा नवाजुद्दीन सिद्दीकी मुख्य भूमिकामा देखिनेछन्। हाल शान्ति निकेतनमा छायांकन भइरहेको यो फिल्म अरिजीत र उनकी पत्नी कोएल सिंहले संयुक्त रूपमा लेखेका हुन्। अनुराग बसुका अनुसार अरिजीतलाई फिल्म निर्माणको राम्रो ज्ञान छ।
संगीत करिअरको सुरुआती चरणमा अरिजीतले संगीतकार प्रीतमलाई सहयोग गर्दै संगीतको सूक्ष्म पक्ष सिकेका थिए। प्रीतमको संगीत निर्देशनमा उनले ‘बर्फी’, ‘ये जवानी है दिवानी’, ‘जग्गा जासूस’, ‘तमाशा’, ‘ए दिल है मुश्किल’ र ‘ब्रह्मास्त्र’ जस्ता चर्चित फिल्मका गीत गाएका छन्। प्रीतमबाहेक उनले शंकर–एहसान–लय, विशाल–शेखर, मिथुन र मोन्टी शर्माजस्ता संगीतकारसँग पनि सहकार्य गरेका छन्।
बलिउडमा अत्यन्तै सफल भए पनि अरिजीत मुम्बईमा बस्दैनन्। उनी पश्चिम बंगालको मुर्शिदाबादमा आफ्नी पत्नी कोएल र दुई छोरासँग बस्छन्। त्यहीँबाट उनले आफ्नो गायन करिअर, संगीत कम्पनी र फिल्म निर्माणगृहको व्यवस्थापन गर्दै आएका छन्। जन्मभूमिमै स्थापना गरेको रेकर्डिङ स्टुडियोबाट उनले गीत रेकर्ड तथा रचना गरिरहेका छन्।
हालै संगीतकार जोडी सलीम–सुलेमानमध्ये सलीम मर्चेन्टले सोही स्टुडियोमा अरिजीतको स्वरमा गीत रेकर्ड गरेका थिए। सलीमका अनुसार फिल्म निर्माण अरिजीतको पुरानै सपना हो, जसमा उनी अब पूर्ण रूपमा केन्द्रित हुन चाहन्छन्।
अरिजीत महान् निर्देशक सत्यजित रेको सिनेमाबाट प्रभावित छन्। केही वर्षअघि उनले आफ्ना संगीत गुरु राजेन्द्रप्रसाद हजारीको जीवनमा आधारित एक बंगाली फिल्म निर्माण तथा निर्देशनसमेत गरिसकेका छन्। उनका पारिवारिक मित्र अनिलावा चटर्जीका अनुसार अरिजीत हाल हिन्दी र बंगाली दुवै फिल्म निर्माणमा व्यस्त छन्।
अरिजीत सिंहले सन् २००५ मा १८ वर्षको उमेरमा गायन रियालिटी शो ‘फेम गुरुकुल’बाट आफ्नो यात्रा सुरु गरेका थिए। शोबाट बाहिरिँदा जावेद अख्तरले उनलाई “यो तपाईंका लागि कम र शोका लागि बढी घाटा हो” भनेका थिए।
उनले २०११ मा ‘मर्डर–२’को ‘फिर मोहब्बत’ गीतबाट बलिउडमा पहिलो ठूलो ब्रेक पाए। २०१३ को ‘आशिकी–२’को ‘तुम हि हो’ गीतले उनलाई शीर्ष गायकको सूचीमा पुर्यायो। त्यसपछि ‘कभी जो बादल बरसे’, ‘इलाही’, ‘ए दिल है मुश्किल’, ‘बिन्ते दिल’, ‘केसरिया’ जस्ता गीतमार्फत उनले निरन्तर सफलता पाए।
युट्युब, स्पोटिफाई र सामाजिक सञ्जालमा अत्यन्तै लोकप्रिय अरिजीत पछिल्ला वर्षहरूमा सबैभन्दा धेरै स्ट्रिम गरिने गायकमध्ये एक हुन्।
अरिजीतले दुईपटक राष्ट्रिय पुरस्कार र आठपटक फिल्मफेयर पुरस्कार प्राप्त गरिसकेका छन्। सन् २०२५ मा भारत सरकारले उनलाई पद्मश्रीबाट सम्मान गरेको थियो। ‘पद्मावत’को ‘बिन्ते दिल’ र ‘ब्रह्मास्त्र’को ‘केसरिया’ गीतका लागि उनले राष्ट्रिय पुरस्कार जितेका हुन्।
शान्त स्वभावका अरिजीतको करिअरमा सलमान खानसँगको विवाद निकै चर्चित रह्यो। २०१४ मा एक पुरस्कार समारोहमा भएको संवादपछि उनीहरूबीच दूरी बढेको थियो, जसका कारण सलमानका केही फिल्मबाट अरिजीतको आवाज हटाइएको थियो। यद्यपि, सात वर्षपछि ‘टाइगर–३’मार्फत उनीहरूबीच मेलमिलाप भयो। सलमानले पछि आफूबाट कमजोरी भएको स्वीकार्दै अरिजीतसँगको सम्बन्ध सुधारिएको बताएका थिए।
हाल अरिजीत सलमान अभिनीत ‘द ब्याटल अफ गलवान’को ‘मातृभूमि’ गीत र ब्लकबस्टर फिल्म ‘धुरन्धर’को रोमान्टिक गीत ‘गहरा हुआ’मार्फत पनि चर्चामा छन्।