नक्कली सुन धरौटी राखेर रकम ठगी गर्ने व्यक्ति भद्रपुरबाट पक्राउ

झापा । झापाको भद्रपुर बजारमा नक्कली सुन देखाएर रकम ठगी गर्ने १ व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उदयपुरको चौदण्डीगढी नगरपालिका–३ का ४३ वर्षीय छोरा जितबहादुर विकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार माघ १५ गते भद्रपुर नगरपालिका–५ स्थित भोजपुर ज्वेलर्समा पुगेका विकले सुनजस्तै देखिने पहेँलो धातु धरौटी राखेर नगद लिन खोजेका थिए ।

उनले उक्त धातुलाई सक्कली सुनको गहना भएको दाबी गर्दै ‘आकस्मिक’ परेको भनेर धरौटी राख्न लागेको बताएका थिए । तर, गहनाप्रति शंका लागेपछि सुन पसल सञ्चालकले प्रहरीलाई खबर गरे ।

तत्काल खटिएको प्रहरीले विकलाई पक्राउ गरेको हो । विकविरुद्ध मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ठगी कसुरमा मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा विकले यसअघि पनि बिर्तामोड क्षेत्रलगायतका विभिन्न स्थानमा रहेका सुन पसलहरूमा यस्तै तरिकाले ठगी गरेको खुल्न आएको छ । उनले सक्कली सुनको गहना भएको बहाना बनाएर धरौटी राख्ने र नगद रकम लिएर फरार हुने गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।