विराटनगर । प्यूठानको गौमुखी गाउँपालिका–६ लिबाङमा १ युवकले आफ्नै भाइको सहयोगमा पत्नीको हत्या गरेका छन् ।
हत्यामा संलग्न दाजुभाइलाई नै प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार १९ वर्षीय अनिल घर्तीले आफ्नै १७ वर्षीय भाइको सहयोगमा पत्नी १९ वर्षीया शर्मिला घर्तीको हत्या गरेका हुन् ।
प्रारम्भिक अनुसन्धानमा दाजुभाइले योजनाबद्ध रूपमा शर्मिलालाई भिरबाट धकेलेको खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार प्रेम सम्बन्धमा रहेका अनिल र शर्मिलाबीच २ वर्षअघि कानुनविपरीत बालविवाह भएको थियो ।
केही समयदेखि अनिलले शर्मिलामाथि परपुरुषसँग सम्बन्ध रहेको शंका गर्दै आएका थिए । सोही विषयमा दम्पतीबीच विवाद भइरहने गरेको बताइएको छ ।
घटनाको दिन माघ १६ गते साँझ अनिलले शर्मिलालाई घुम्न जाने बहानामा घरबाट बाहिर लगेका थिए । त्यस क्रममा विवाद बढेपछि उनलाई भिरबाट धकेलेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
घटना पश्चात दुवै जनाले दुर्घटना जस्तो देखाउने प्रयास गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका दाजुभाइविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन प्रहरीले अनुसन्धानको थप प्रक्रिया अघि बढाएको छ ।