भद्रपुरमा मोटरसाइकलको ठक्करबाट खरेलको मृत्यु, चालकसहित २ जना घाइते

विराटनगर । झापाको भद्रपुरमा मोटरसाइकलको ठक्करबाट आइतबार साँझ १ जनाको मृत्यु भएको छ । मोटरसाइकल चालकसहित २ जना घाइते भएका छन् ।

बनियानी पक्की सडक खण्डअन्तर्गत भद्रपुर नगरपालिका–२ सगरमाथा चोकमा साँझ ६ः२० बजेतिर दुर्घटना भएको हो । बनियानीबाट पृथ्वीनगरतर्फ जाँदै गरेको मे ७ प २०३४ नम्बरको मोटरसाइकलले पैदलयात्री भद्रपुर–२ का ६४ वर्षीय कुलप्रसाद खरेललाई ठक्कर दिएको थियो ।

गम्भीर घाइते भएका खरेललाई उपचारका लागि ओमसाई पाथीभरा अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषित गरिदिएको झापा प्रहरीका प्रवक्त डीएसपी खगेन्द्रबहादुर खड्काले बताए । शवलाई पोस्टमार्टमका लागि मेची प्रादेशिक अस्पताल भद्रपुरमा राखिएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक भद्रपुर–६ का २१ वर्षीय अनुराग घोष र पछाडि सवार २१ वर्षीय मन्दीप दंगाल घाइते भएका छन् । घाइतेमध्ये मोटरसाइकल चालक घोषको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

उनको ओमसाई अस्पतालमै उपचार भइरहेको छ । दंगालको अवस्था भने सामान्य रहेको छ । मोटरसाइकललाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।