विराटनगर । कोशी प्रदेशसभाको आगामी हिउँदे अधिवेशन विराटनगरस्थित वीरेन्द्र सभागृहमा सञ्चालन हुने भएको छ । प्रदेशसभा सञ्चालनका लागि आइतबार विराटनगर महानगरपालिका र प्रदेशसभा सचिवालयबीच औपचारिक सम्झौता भएको छ ।
महानगरका प्रमुख नागेश कोइराला र उपप्रमुख शिल्पा निराला कार्कीको उपस्थितिमा भएको उक्त सम्झौता पत्रमा महानगरका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रप्रसाद दुलाल र प्रदेशसभाका तर्फबाट सचिव सुदर्शन खड्काले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार आगामी माघ १८ गतेदेखि लागू हुने गरी ६ महिनाका लागि सभागृह प्रदेशसभाको जिम्मामा रहनेछ । यस बापत प्रदेशसभा सचिवालयले महानगरपालिकालाई मासिक ८ लाख रुपैयाँ भाडा बुझाउनुपर्ने सर्त रहेको छ । ६ महिनाको अवधि समाप्त हुनुभन्दा एक महिना अगावै दुवै पक्षको आपसी सहमतिमा करार अवधि थप गर्न सकिने प्रावधान समेत राखिएको छ । यदि सचिवालयले सम्झौता अवधि नसकिँदै भवन छाड्न चाहेमा एक महिना अगावै लिखित सूचना दिनुपर्नेछ ।
गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी हुँदा प्रदेशसभाको भवन पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो । त्यसपछि प्रदेशसभाका कामकारबाहीहरू कृषि बजारको संरचनामा सञ्चालन गरिँदै आएको छ । तर, त्यहाँ उपयुक्त संरचना निर्माणमा ढिलाइ भएपछि विकल्पको रूपमा वीरेन्द्र सभागृहलाई रोजिएको हो । कोशी प्रदेशसभाको हिउँदे अधिवेशन आगामी माघ २५ गतेबाट सुरु हुने तय भइसकेको छ ।