मोरङको रंगेलीमा पत्नीको हत्यापछि युवकद्वारा आत्महत्या

विराटनगर । मोरङको रंगेलीमा मंगलबार बिहानका राति १ जना युवकले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।

रंगेली नगरपालिका–५ बहुवनका अन्दाजी २१ वर्षीय मुकेशकुमार मण्डलले रंगेली–५ धनपट्टीस्थित ससुराली घर पुगेर पत्नीको हत्या गरेको मोरङ प्रहरीका डीएसपी लीलाराज लामिछानेले बताए । उनका अनुसार घटना बिहान २ः४५ बजेतिरको हो ।

मुकेश सोमबार बेलुका धनपट्टीस्थित ससुराली घरमा पुगेका थिए । उनले ससुराली घरमै पत्नी अन्दाजी २१ वर्षीया अम्बिकाकुमारी मण्डलको हत्या गरेको प्रहरीले जनाएको छ । घरेलु विवादका क्रममा कुटपिट गर्दै मुकेशले पत्नी अम्बिकाकुमारीलाई चक्कुले प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पतिले चक्कुले प्रहार गर्दा अम्बिकाकुमारीको घटनास्थलमै मृत्यु भएको डीएसपी लामिछानेले बताए । उनका अनुसार पत्नीको मृत्यु भएपछि मुकेशले पनि त्यही चक्कुले आफ्नो घाँटी रेटेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

मुकेशको पनि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै जनाको शव हाल घटनास्थलमै छ । घटनाको अनुसन्धानका लागि मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाल आफैं घटनास्थल पुगेका छन् ।

घटनास्थल पुगेर प्रहरी टोलीले मुचुल्का उठाउने लगायतका कानुनी प्रक्रिया पूरा गर्ने काम गरिरहेको छ । घटनाको वास्तविक कारण तथा अन्य पृष्ठभूमिबारे विस्तृत अनुसन्धान भइरहेको डीएसपी लामिछानेले बताए ।