नेताहरूको नाम दुरुपयोग गरी ठगी गर्ने अमेरिकी नागरिक पक्राउ

विराटनगर । नेपाली राजनीतिका शीर्ष नेता र प्रतिष्ठित व्यक्तिहरूको नाम दुरुपयोग गरी अन्तर्राष्ट्रियस्तरमा ‘फण्ड’ संकलन गर्ने एक अमेरिकी नागरिकलाई अध्यागमन विभागले पक्राउ गरेको छ। विभागले ती नागरिकलाई नियन्त्रणमा लिएर उनको शङ्कास्पद गतिविधिमाथि विस्तृत अनुसन्धान सुरु गरेको हो।

ती अमेरिकी नागरिकले ‘निकलेज इडीयू एनपी’ नामक वेबसाइट बनाएर कलेजको प्रचार गर्ने बहानामा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति गगन थापा, आरजु राणा देउवा, महेश बस्नेत र विनोद चौधरीलगायत १३ जनालाई आफ्नो ‘डाइनामिक टिम’ का सदस्यका रूपमा प्रस्तुत गरेका थिए।

विभागका प्रवक्ता टीकाराम ढकालले वेबसाइटमा नेताहरूको तस्बिर र नाम राखेर अन्तर्राष्ट्रिय तहमा रकम उठाउने उद्देश्य राखेको पाइएको बताए। कलेजले आफूलाई त्रिभुवन र पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भएको दाबी गरे पनि त्यसको कुनै आधिकारिक प्रमाण पेस गर्न सकेको छैन।

अनुसन्धानका क्रममा ती नागरिक सन् २०१४ देखि हालसम्म ५० पटकभन्दा बढी नेपाल आउजाउ गरेको देखिएको छ। उनी कहिले पर्यटक त कहिले वर्किङ र व्यावसायिक भिसा प्रयोग गर्दै नेपाल आउने गरेका थिए।