विराटनगर । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१३ अन्तर्गत चुनीखेल नयाँबस्तीमा मंगलबार राति भएको आगलागीबाट २४ परिवार विस्थापित भएका छन् । राति करिब पौने ११ बजेतिर सुरु भएको आगो सवा १ बजेपछि मात्र नियन्त्रणमा आएको थियो ।
स्थानीयवासीका अनुसार आगो बस्तीको बीचमा रहेको लामो टहराबाट सुरु भई छिट्टै फैलिएको थियो । आगलागीका क्रममा टहराभित्र फसेका ७ जनालाई सुरक्षाकर्मी र स्थानीयको सहयोगमा सुरक्षित रूपमा उद्धार गरिएको थियो । मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
आगो निभाउन काठमाडौं महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका र टोखा नगरपालिकाका दमकल परिचालन गरिएको थियो । दमकल, प्रहरी, स्थानीयवासी र नगरपालिकाका कर्मचारीको संयुक्त प्रयासले आगो पूर्ण रूपमा नियन्त्रणमा आएको हो ।
बुढानीलकण्ठ–१३ का वडा अध्यक्ष टीकानारायण श्रेष्ठका अनुसार आगलागीबाट २४ कोठा बराबरको लामो टहरा पूर्ण रूपमा जलेर नष्ट भएको छ । ती कोठामा विभिन्न जिल्लाबाट आएका मजदुर तथा न्यून आय भएका परिवारहरू भाडामा बस्दै आएका थिए । ‘त्यहाँ २४ परिवार बसोबास गर्दै आएका थिए । आगलागीपछि सबै परिवार विस्थापित भएका छन्,’ वडा अध्यक्ष श्रेष्ठले भने ।
विस्थापित परिवारलाई तत्काल नजिकै रहेका अन्य टहरामा अस्थायी रूपमा बस्ने व्यवस्था मिलाइएको छ । साथै, नगरपालिकाको समन्वयमा खाद्यान्न, लत्ताकपडा तथा आवश्यक राहत सामग्री उपलब्ध गराउने तयारी भइरहेको वडा कार्यालयले जनाएको छ ।
आगलागी विद्युत सर्ट भएर भएको प्रारम्भिक अनुमान गरिएको छ । यद्यपि, आगलागीबाट भएको कुल क्षतिको विवरण भने प्राप्त हुन बाँकी छ । प्रहरीसहित मुचुल्का उठाइने र आगलागीको कारण पत्ता लगाउँदै क्षतिको विस्तृत विवरण संकलन गरिने वडा अध्यक्ष श्रेष्ठले बताए ।
घटनापछि स्थानीयवासीले बस्ती क्षेत्रमा कमजोर विद्युतीय तार, अव्यवस्थित टहरा र दमकल पुग्न कठिन संरचनाका कारण आगलागीको जोखिम उच्च रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनीहरूले यस्ता बस्तीमा आगलागी न्यूनीकरणका लागि नियमित अनुगमन, सुरक्षित विद्युत जडान र वैकल्पिक बसोबासको व्यवस्था गर्न स्थानीय सरकारसँग माग गरेका छन् ।