मकालुमा पहिचान नखुलेको सवारीसाधनको ठक्करबाट १ जनाको मृत्यु

विराटनगर । संखुवासभाको मकालुमा पहिचान नखुलेको सवारीसाधनको ठक्करबाट बुधबार राति १ जनाको मृत्यु भएको छ ।

उत्तर–दक्षिण कोशी राजमार्गअन्तर्गत मकालु गाउँपालिका–५ मुढेमा राति ८ः३० बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा सिन्धुली हरिहरपुरगढी गाउँपालिका–६ का अन्दाजी ३१ वर्षीय नेमलाल तामाङको मृत्यु भएको हो ।

घटनास्थलमै ज्यान गुमाएका तामाङ कामको सिलसिलामा संखुवासभाको मकालु पुगेको पाइएको छ । पैदल हिँडिरहेका बेला उनलाई सवारीसाधनले ठक्कर दिएको हुनसक्ने अनुमान गरिएको छ ।

घटनास्थलको सडक ग्राभेल अवस्थामा छ । घटनास्थल सदरमुकाम खाँदबारीबाट करिब ३२ किलोमिटर उत्तरमा पर्ने जानकारी प्रहरीले दिएको छ ।

प्रहरीले तामाङलाई ठक्कर दिने सावरीसाधनको पहिचान र खोजी तीव्र पारिएको जनाएको छ । घटनाको थप अनुसन्धानका लागि सदरमुकाम खाँदबारीस्थित जिल्ला प्रहरी कार्यालयबाट इन्स्पेक्टर मेघराज अर्याल नेतृत्वको टोली परिचालन गरिएको छ ।