विराटनगर। काठमाडौं बौद्ध टुसाल क्षेत्रमा भएको १ करोड रुपैयाँभन्दा बढीको सुन चोरी प्रकरणमा संलग्न १ व्यक्तिलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ ।
गोली लागेर घाइते भएका ती व्यक्तिको हाल काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । प्रहरीका अनुसार बौद्ध टुसालस्थित स्थानीय रिन्जी लामाको घरबाट सुनका गहना चोरी गर्ने व्यक्ति प्रेम थारु हुन् ।
उनी नेपालगञ्जका बासिन्दा रहेको प्रहरीले जनाएको छ । मंगलबार दिउँसो लामाको घरबाट करिब ३० तोला सुन, केही चाँदीका गहना र सिमालासहित जम्मा १ करोड ४ लाख ५३ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको थियो ।
चोरीपछिको अनुसन्धानका क्रममा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको संयुक्त टोलीले थारुलाई पक्राउ गर्ने प्रयास गरेको थियो । सो क्रममा उनी भाग्न खोजेपछि बाध्य भएर गोली चलाएको प्रहरीले जनाएको छ ।
प्रहरीको गोली थारुको खुट्टामा लागेको र त्यसपछि उनलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिए । उनले घटनाको थप अनुसन्धान भइरहेको बताए ।
चोरीमा अन्य व्यक्ति संलग्न छन् कि छैनन् भन्ने विषयमा पनि खोजी जारी रहेको जनाइएको छ । बरामद गरिएका सुन तथा अन्य सामग्री प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनास्थल आसपासका सीसीटीभी फुटेज पनि संकलन गरी विश्लेषण भइरहेको छ ।
काठमाडौं उपत्यकामा पछिल्लो समय सुन तथा बहुमूल्य गहनाको चोरीका घटना बढ्दै गएको भन्दै प्रहरीले घरको सुरक्षामा थप सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।