विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्त, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यसहित निर्वाचन लक्षित प्रहरी प्रशिक्षण सुरु भएको छ ।
प्रहरी प्रधान कार्यालयमा बुधबारदेखि सुरु भएको प्रशिक्षण कार्यक्रम निर्वाचन एकीकृत सुरक्षा योजनाअनुसार सञ्चालन गरिएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार पहिलो चरणमा प्रहरी प्रधान कार्यालय विभिन्न ब्यूरो तथा नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई)देखि प्रहरी कार्यालय सहयोगीसम्म गरी ४ हजार १ सय ४८ जनालाई चरणबद्ध रूपमा १० दिनको प्रशिक्षण दिइनेछ ।
यससँगै, देशभरका जिल्ला प्रहरी कार्यालयमा गठन गरिएका निर्वाचन ‘सेल’मार्फत निर्वाचन सुरक्षामा खटिने अन्य प्रहरीका लागि पनि चरणबद्ध तालिम सञ्चालन गरिने तयारी छ । तालिममा निर्वाचन सुरक्षा व्यवस्थापन, मतदान केन्द्रको सुरक्षा, निर्वाचन आचारसंहिता, प्रहरीको भूमिका र दायित्व, सम्भावित चुनौती र त्यसको सामना गर्ने उपाय, सामाजिक सञ्जाल प्रयोगसम्बन्धी नीति, साथै प्रहरी ऐन र नियमावलीमा उल्लेखित निर्वाचनसम्बन्धी अपराध तथा दण्ड सजायका प्रावधानहरूबारे प्रशिक्षण दिइनेछ ।
निर्वाचनलाई व्यवस्थित, सुरक्षित र विश्वासयोग्य बनाउन तालिम प्रभावकारी हुने अपेक्षा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।