मोरङ–५ मा जसपाका उम्मेदवार राजकुमार यादवको चुनावी अभियान तीव्र

विराटनगर । जनता समाजवादी पार्टी (जसपा) का नेता तथा मोरङ क्षेत्र नम्बर–५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार राजकुमार यादवले आफ्नो चुनावी अभियानलाई तीव्र बनाएका छन् ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार यादव हाल घरदैलो अभियानमा सक्रिय देखिनुभएको छ ।

घरदैलो अभियानका क्रममा उहाँले क्षेत्रका प्रत्येक मतदातासँग प्रत्यक्ष भलाकुसारी गर्दै स्थानीय समस्या, आवश्यकता र जनआकांक्षा बुझिरहनुभएको छ । साथै, आफ्नो उम्मेदवारीको उद्देश्य र भावी योजनाबारे जानकारी गराउँदै जनताको विश्वास जित्ने प्रयासमा उहाँ जुट्नुभएको छ ।

जनताको सेवा र मोरङ–५ को समग्र विकासका लागि आफू उम्मेदवार बनेको उल्लेख गर्दै यादवले जनताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको बताउनुभयो । उहाँका अनुसार स्थानीयवासीहरूले आफ्नो उम्मेदवारीलाई आशाका रूपमा लिएका छन् ।

घरदैलो अभियानका क्रममा मतदाताहरूले यादवप्रति विश्वास व्यक्त गर्दै आफूलाई नै मतदान गर्ने प्रतिबद्धता जनाइरहेका छन् । प्राप्त जनमतलाई कहिल्यै खेर जान नदिने प्रतिबद्धता व्यक्त गर्दै उम्मेदवार यादवले जनताको अपेक्षाअनुसार काम गरेर देखाउने विश्वास दिलाउनुभयो ।

मोरङ–५ मा जसपाका उम्मेदवार राजकुमार यादवको सक्रियता र जनसमर्थन बढ्दै गएपछि चुनावी माहोल थप रोचक बन्दै गएको छ ।