विराटनगर । झापाको शिवसताक्षी नगरपालिकामा फाइबर नेट जडानका लागि खाल्डो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर एक जना मजदुरको मृत्यु भएकाे छ । मृत्यु हुनेमा सिरहाको लाहान नगरपालिका घर भई हाल शिवसताक्षी नगरपालिका-८ स्थित फाइबर नेटमा कार्यरत अन्दाजी ३५ वर्षीय रमेशकुमार यादव छन् ।
प्रहरीका अनुसार शुक्रबार दिउँसो करिब २:१० बजेको समयमा शिवसताक्षी-११ स्थित सतासी खोलाको शाखा कल्बर्ट नजिकै एनसेलको फाइबर जडानका लागि बनाइएको भूमिगत खाल्डोमा पसेर काम गरिरहेको अवस्थामा अचानक माटोको ढिस्को खसेको थियो । ढिस्कोले पुरिएर गम्भीर घाइते भएका यादवलाई तत्काल स्थानीयको सहयोगमा उद्धार गरी एम्बुलेन्स मार्फत दमक अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याए लगतै उपचारका क्रममा दिउँसो ३:३५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।