वैदेशिक रोजगारीको प्रलोभन देखाई लाखौँ ठगी गर्ने पक्राउ

विराटनगर । क्रोएसिया र ग्रिस लगायतका देशमा आकर्षक रोजगारीको प्रलोभन देखाएर युवाहरूलाई ठगी गर्ने दुई जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेका ४३ वर्षीय उपासना भण्डारी र कैलालीका २३ वर्षीय युवराज कुँवर रहेका छन्।

प्रहरीका अनुसार उपासनाले क्रोएसिया पठाउने भन्दै एक जना पीडितबाट १२ लाख रुपैयाँ ठगी गरेकी थिइन्। त्यस्तै, पक्राउ परेका अर्का व्यक्ति युवराजले ५ जना युवालाई ग्रिस पठाउने सपना देखाई १९ लाख रुपैयाँ असुलेर फरार भएका थिए। उनीहरू दुवै जनालाई काठमाडौँ महानगरपालिका–३१ बाट प्रहरीले नियन्त्रणमा लिएको हो।

वैदेशिक रोजगारीका नाममा रकम उठाएर लामो समयसम्म सम्पर्कविहीन भएपछि पीडितहरूले प्रहरीमा उजुरी दिएका थिए। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए।