नेपाल-भारत सीमा सुरक्षा बैठक : सीमा नाका ४८ घण्टा सिल गरिने

विराटनगर । नेपाल सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बल बीचको १६औँ डीआईजी तहको समकक्ष समन्वय बैठक शुक्रबार सम्पन्न भएको छ । माेरङकाे विराटचाेकमा भएकाे दुई देशबीचको सीमा सुरक्षा बैठकले विभिन्न निर्णय पनि गरेकाे छ ।

बैठकमा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाउने सहमति भएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचनको ४८ घण्टा अगावै सीमा नाका पूर्ण रूपमा सिल गर्ने, संयुक्त गस्ती बढाउने र सुरक्षा संयन्त्रलाई थप सुदृढ बनाउने निर्णय दुवै पक्षले गरेका छन् ।

छलफलका क्रममा सीमा सुरक्षा, सूचनाको आदान–प्रदान, तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश नियन्त्रण, मानव बेचबिखन, नक्कली मुद्रा, हातहतियार तथा लागुऔषध ओसार–पसार नियन्त्रण जस्ता गम्भीर विषयमा छलफल भएकाे थियो ।

सीमा स्तम्भको संरक्षण, नो-म्यान्स ल्यान्ड (दशगजा) को उचित व्यवस्थापन, यात्रीहरूको सहज आवागमनका लागि सहजीकरण, संयुक्त गस्ती, विपद् उद्धार अभ्यास र दुई सुरक्षा निकायबीच आपसी खेलकुद गतिविधि सञ्चालन गर्ने विषयमा समेत दुवै पक्षबीच समझदारी बनेको छ ।

बैठकलाई सम्बोधन गर्दै सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपानेले सीमा केवल दुई देशबीचको भौगोलिक रेखा मात्र नभई यो मित्रता र सहकार्यको प्रतीक पनि भएको बताए । भारतीय एसएसबी डिआइजी सरोजकुमार ठाकुरले सीमा सुरक्षा र अपराध नियन्त्रणमा सहकार्यलाई अझ मजबुत र प्रभावकारी बनाउने बताए ।

उक्त बैठकमा शसस्त्र प्रहरी बल नेपालको तर्फबाट प्रहरी नायव महानिरिक्षक कुमार न्यौपाने, अन्जनीकुमार पाेखरेल, दिपेन्द्र शाह, कृष्ण ढकाल र मनिष थापाको उपस्थिति थियो । भारतीय टाेलीमा सरोजकुमार ठाकुर, मन्जीत सिंह, सुरेश सुब्रमनिम, राजेश टिक्कु र मनिस कुमार सहभागी थिए ।