चलचित्र ‘सिटामोल’को टिजर सार्वजनिक, पारिवारिक कथा झल्किने

विराटनगर । पारिवारिक प्रेम, दुःख र उतारचढाव समेटिएको नेपाली चलचित्र ‘सिटामोल’ को टिजर सार्वजनिक गरिएको छ। आइतबार सार्वजनिक टिजरमा प्रमुख पात्रहरूको बाल्यकालदेखि विवाहसम्मको सम्बन्ध, त्यसपछिको जीवनयात्रामा आएका चुनौतीहरू देखाइएको छ।

“जुम्लेलीलाई जीवन जल नै गुन हजुर, रोल्पालीलाई सिटामोल नै सुन हजुर” भन्ने सशक्त संवादबाट सुरु हुने टिजरले कथाको परिवेश र भावनात्मक पक्ष दर्शाउने प्रयास गरेको छ।

चलचित्रमा सौगात मल्ल र बेनिशा हमाल मुख्य भूमिकामा छन्। उनीहरूका पात्रहरूको मिलन, प्रेम र संघर्षपूर्ण वैवाहिक जीवनमार्फत चलचित्रले नेपाली समाजको वास्तविक चित्रण गरेको देखिन्छ।

राजबहादुर सानेको निर्देशन रहेको चलचित्रमा सौगात र बेनिशासँगै लोकेन्द्र लेखक, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, भुगोल कार्की, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेललगायत कलाकारहरूको अभिनय रहेको छ।

चलचित्रको कथा प्रदीप भारद्वाज र निर्देशक सानेले संयुक्त रूपमा लेखेका हुन्। सिमोस सुनुवारको प्रस्तुति रहेको ‘सिटामोल’ मा भुगोल कुमार कार्की र विकाश राज जोशी निर्माता छन् भने अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माताको रूपमा रहेका छन्। गंगाराम श्रेष्ठ सह-निर्मातामा छन्।

पारिवारिक संवेदना र यथार्थ चित्रणलाई केन्द्रमा राखेर निर्माण गरिएको चलचित्र ‘सिटामोल’ आगामी साउन २३ गते देशव्यापी रूपमा प्रदर्शनमा आउनेछ।