विराटनगर । विराटनगरस्थित चेतना संरक्षण प्रतिष्ठानले २१ औँ वार्षिकोत्सवको अवसरमा साहित्य, कला, पत्रकारिता, समाजसेवा र खेलकुद लगायतका विभिन्न विधामा योगदान पुर्याउने ८ जना स्रष्टा तथा संस्थालाई नगदसहित सम्मान गरेको छ ।
विराटनगरमा आयोजित एक विशेष समारोहका बीच उनीहरूलाई सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका वन, पर्यटन तथा वातावरण मन्त्री भीम पराजुलीले स्रष्टा र सर्जकहरूको सम्मानले समाजलाई ऊर्जा दिने बताए ।
मन्त्री पराजुलीले स्रष्टाका पक्षमा प्रदेश सरकार सदैव सकारात्मक रहेको उल्लेख गर्दै आगामी बजेटमार्फत प्रतिष्ठानका गतिविधिमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले प्रतिष्ठानको अभियानमा सहकार्य गर्दै संग्रहालय निर्माणका लागि बजेट सुनिश्चित गर्न पाउनु आफ्नो लागि गौरवको विषय हुने धारणा समेत राखे ।
प्रतिष्ठानकी अध्यक्ष प्राज्ञ गंगा सुवेदीले समाजमा ओझेलमा परेका र सम्मानबाट विमुख रहेका वास्तविक प्रतिभाहरूको पहिचान गर्नु नै संस्थाको मुख्य उद्देश्य रहेको बताइन् । उनले साहित्य र कला क्षेत्रलाई सकारात्मक दृष्टिले हेर्नुपर्नेमा जोड दिइन् ।
सो अवसरमा भारतको असाम राज्यका साहित्यकार तथा कलाकार कलाश्री विनोद खनाललाई २ लाख रुपैयाँ राशिको जगतबन्धु–अञ्जु कार्की चेतना विशेष सम्मान, जनकपुरका साहित्यकार डा. राजेन्द्र विमललाई १ लाख रुपैयाँ राशिको धर्मानन्द–रामप्यारी सिटौला साहित्य चेतना सम्मान प्रदान गरिएको थियो ।
त्यस्तै, काठमाडौंका कलाकार मुकेश मल्ललाई ५१ हजार रुपैयाँ राशिको भूपेन्द्रप्रसाद–शोभा रिजाल ललित कला चेतना सम्मान, महोत्तरीका सामाजिक अभियन्ता डा. ओममूर्ति अनिललाई ओमप्रकाश गोयल समाजसेवा चेतना सम्मान, पत्रकार मातृका पौडेललाई नरेश सुवेदी पत्रकारिता चेतना सम्मान प्रदान गरियो ।
त्यसैगरी, विराटनगरस्थित परमार्थ सिंघीया आरती सेवा संस्थालाई बालकिशन–नर्वदा देवी सनातन मानवीय धर्म संस्कृति चेतना सम्मान प्रदान गरिएको छ । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी पूर्वकप्तान एन्जिला तुम्बापो सुब्बालाई ५१ हजार रुपैयाँ राशिको डा. नरेन्द्र–भवानीशंकर–योगमाया युवा प्रतिभा चेतना सम्मान, मोरङका बाल प्रतिभा बबिता राजवंशी र मिसराना खातुनलाई समान २१–२१ हजार रुपैयाँ राशिको केदारनाथ–श्रीमती मञ्जु सत्याल बाल प्रतिभा चेतना सम्मान समर्पण गरिएको थियो ।