विराटनगर। झापाको भद्रपुरमा एक अवकाशप्राप्त शिक्षकको एनेस्थेसियामा प्रयोग हुने घातक औषधि सुईमार्फत प्रहार गरी हत्या गरिएको छ। भद्रपुर नगरपालिका–१०, त्रिवेणी टोलका ६६ वर्षीय खेमराज ढकालको शरीरमा ‘प्रोपोफोल’ नामक औषधि जबरजस्ती पठाएर हत्या गरिएको प्रहरी अनुसन्धानबाट खुलेको हो।
शल्यक्रियाअघि बिरामीलाई बेहोस बनाउन प्रयोग गरिने यो औषधिको उच्च मात्राका कारण ढकालको मृत्यु भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। बिहीबार साँझ घरमै बसिरहेका ढकालको घाँटीमा सुई प्रहार गरिएको थियो। गम्भीर अवस्थामा अस्पताल पुर्याइएका उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।
हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सिरहाका २६ वर्षीय दिपेशकुमार सिंहलाई पक्राउ गरेको छ। सिंह बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा), धरानमा एमबीबीएस चौथो वर्षमा अध्ययनरत विद्यार्थी हुन्। उनी मृतक ढकालकी छोरीका सिनियर विद्यार्थीसमेत हुन्।
प्रहरीका अनुसार यो हत्या प्रेम प्रस्ताव अस्वीकार गरेको रिसिबीका कारण योजनाबद्ध रूपमा गरिएको पाइएको छ। सिंहले ढकालकी छोरीलाई प्रेम प्रस्ताव राखेको र सो अस्वीकार भएपछि उनीहरूबीच सम्बन्ध बिग्रिएको थियो। यसअघि पनि सिंहले ती छात्राको फोटो सम्पादन गरेर बदनाम गर्न खोजेको भन्दै इलाका प्रहरी कार्यालय धरानमा उजुरी परेको खुलेको छ।
सोही रिस फेर्न सिंह ‘शिक्षक चाहिएको’ बहाना बनाएर ढकालको घर पुगेका थिए। जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले सिरिन्जमा प्रयोग गरिएको औषधिको थप प्रयोगशाला परीक्षण भइरहेको जानकारी दिए। पक्राउ परेका सिंहमाथि ज्यान सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी थप अनुसन्धान अगाडि बढाइएको छ।