मोरङको रंगेलीमा दुर्घटना : पतिको मृत्यु, पत्नी घाइते

विराटनगर । मोरङको रंगेलीमा आइतबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । पछाडि सवार महिला घाइते भएकी छन् ।

प्रहरीका अनुसार हुलाकी सडक खण्डअन्तर्गत रंगेली नगरपालिका–२ चेकापुलमा को ३० प ३९१५ नम्क्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दिउँसो १ः२५ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक पतिको मृत्यु भएको छ भने पछाडि सवार पत्नी घाइते भएकी छन् ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी हरिनन्दन चौधरीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक रंगेली नगरपालिका–५ का ३३ वर्षीय रामनारायण महतोको मृत्यु भएको हो । दुर्घटनामा परेर गम्भीर घाइते भएका महतोलाई उपचारका लागि रंगेली अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरिएको चौधरीले बताए ।

उनका अनुसार दुर्घटनामा मृतकको पत्नी ३० वर्षीया द्रौपति महतो घाइते भएकी छन् । उनको रंगेली अस्पतालमै उपचार भइरहेको छ । अवस्था सामान्य रहेको जानकारी प्रहरीले दिएको छ ।

मोटरसाइकल चालकले मादक पदार्थ सेवन (मापसे) गरेको पत्ता लागेको प्रहरीले जनाएको छ । मापसे र मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।