
विराटनगर । सरकारका साझेदार दल नेपाली कांग्रेस निकट आपूर्ति तथा उपभोक्ता विभाग उद्योगी र व्यवसायीका समस्या समाधान गर्न सक्रिय रुपमा अगाडि बढेको छ। सोमबार विराटनगरमा विभागद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा आर्थिक वर्ष २०८२/०८३ को बजेटले उपभोक्ता बजार र आपूर्ति प्रणालीमा पार्ने प्रभावबारे व्यापक छलफल भएको छ।

कार्यक्रममा विभागका केन्द्रीय सदस्य फुलकुमार लालवानीले नयाँ बजेटमा रहेका कमीकमजोरी सच्याउने उद्देश्यका साथ उद्योगी र व्यवसायीको आवाज संकलन गर्न कार्यक्रम आयोजना गरिएको जानकारी दिए। उनले छलफलमा उठेका विषयहरुलाई संकलन गरी प्रस्ताव तयार पारेर कांग्रेसको केन्द्रीय समितिमा पेश गरिने र सो प्रस्ताव पार्टीका तर्फबाट सरकारमा रहेका मन्त्रीमार्फत समाधान गराउने बताए।
छलफलमा सहभागी नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष भीम घिमिरेले भारत–नेपाल रेल सञ्चालन भए पनि औद्योगिक सामग्री आयातमा समस्या रहेको भन्दै सरकारको अर्थनीति अस्तव्यस्त र भद्रगोल रहेको टिप्पणी गरे।
नेपाल उद्योग परिसंघ कोशी प्रदेश अध्यक्ष पवनकुमार सारडाले बजेटमा पहुँचवालाहरूको प्रभाव परिरहेको र त्यसले औद्योगिक क्षेत्रलाई नाजुक अवस्थामा पुर्याएको बताए।
उद्योग संगठन मोरङका उपाध्यक्ष विपिन काबराले सात महिनादेखि भारतको कलकता बन्दरगाहमा रोकिएको ९ सय करोड बराबरको पाम आयलबारे सरकार उदासीन रहेको उल्लेख गरे। मलेसिया र इन्डोनेसियाबाट ल्याइएको पाम आयललाई गलत कोड भिडाइ दिएर अलपत्र पारिएको भन्दै उनले सरकारको नीति विरुद्ध आक्रोश व्यक्त गरे।
नेपाल सुन–चाँदी व्यवसायी संघ विराटनगरका अध्यक्ष शशिभुषण साहले सुन गहनामा लागू गरिएको २ प्रतिशत विलासी कर र १३ प्रतिशत भ्याट खारेज नभएसम्म अनिश्चितकालीन पसल बन्दको कार्यक्रम जारी रहने बताए।
हुलास वायर्स उद्योगकी सञ्चालिका युक्ति गोल्छाले सरकारको गलत नीतिका कारण उद्योग बन्द गर्नुपर्ने अवस्थामा पुगेको जनाइन्।
त्यसैगरी, मोरङ उद्योग वाणिज्य संघ विराटनगरका वरिष्ठ उपाध्यक्ष अनिल साहले सरकारले गलत कर नीति अवलम्बन गरेकाले नेपाली उपभोक्ताले आलु, प्याज जस्तै सुन पनि भारतबाट किन्ने अवस्था सिर्जना भएको बताए।
बुढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापाले प्रमुख दुई दल कांग्रेस र एमालेको नेतृत्वमा चलिरहेको सरकार जनतालाई राहत दिनका लागि प्रभावकारी कदम चाल्नुपर्ने बताए।
मोरङ चेम्बर अफ कमर्सका अध्यक्ष यादव पोखरेलले बजेट नीति गलत हुँदा नयाँ उद्योग स्थापना होइन, पहिलेबाट सञ्चालित उद्योगहरू बन्द हुने अवस्था आएको टिप्पणी गरे।
उपभोक्ता अधिकारकर्मी कृष्ण भण्डारी (मार्सेली) ले व्यापार र उद्योगमैत्री नीति नभएको सरकारको रवैयाका कारण उपभोक्ता मारमा परेको बताए।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बरालले उद्योगी तथा व्यवसायीको समस्यालाई कांग्रेसको केन्द्रीय समितिमा उठाउने प्रतिवद्धता जनाए।