मिक्सर मेसिन सफाइ गर्दा करेन्ट लागेर मृत्यु

विराटनगर । झापाको बिर्तामोड नगरपालिका–२ चारपाने लालमाटीस्थित ओमकार रेडिमेड्स कङ्क्रिट प्रा.लिका कामदार २८ वर्षीय राजीव राजवंशीको करेन्ट लागेर मृत्यु भएको छ ।

मिक्सर मेसिन सफा गर्ने क्रममा करेन्ट लागेर सोमबार राति ११ बजेतिर उनी गम्भीर घाइते भएका थिए । शिवसताक्षी नगरपालिका–४ घर भएका राजवंशीको उपचारका क्रममा बिर्तामोडको बी एन्ड सी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उद्योगका हेल्पर राजवंशीले मिक्सरमा हिल्टी हानेका बेला अचानक विद्युत सर्ट भई करेन्ट लागेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।