झापामा दुर्घटनाका घाइतेको मृत्यु

विराटनगर । झापामा दुर्घटनाका घाइतेको मृत्यु भएको छ । अर्जुनधारा नगरपालिका–६ का ३५ वर्षीय प्रवीण आङ्देम्बेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबारेबाट जयपुरतर्फ जाँदै गरेको प्र १–०१–०१७ प ३५१४ नम्बरको मोटरसाइकल माघ २४ गते राति ८ः३० बजेतिर बुद्धशान्ति गाउँपालिका–२ इन्द्रेणी चोकमा दुर्घटनामा परेको थियो । सडकमा रोकेर राखेको मे १ त ७७६७ नम्बरको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा चालक आङ्देम्बे गम्भीर घाइते भएका थिए ।

उनको उपचार बिर्तामोडको बी एन्ड सी अस्पतालमा भइरहेको थियो । उपचारकै क्रममा मंगलबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर मोटरसाइकलको पछाडि सवार पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ घर भइ झापाको बिर्तामोड नगरपालिका–१ मा बस्दै आएका ४८ वर्षीय हरि आङ्देम्बे घाइते भएका थिए । उनको बी एन्ड सीमै उपचार भइरहेको छ ।

प्रहरीले ट्याक्टर र चालक झापाको मेचीनगर नगरपालिका–२ का ४० वर्षीय वीरबहादुर विश्वकर्मालाई नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।