विराटनगर । सिरहा सदरमुकामस्थित जिल्ला कारागारभित्र कटुवा पेस्तोल र गोली फेला परेपछि नाइकेसहित १३ जना कैदीबन्दीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ ।
जिल्ला सुरक्षा समितिले सोमबार गरेको विशेष अनुगमनका क्रममा कारागारभित्र अवैध हतियार भेटिएको हो । जिल्ला प्रशासन कार्यालयका अनुसार ‘नाइके’ भनिने इन्द्रजित यादवको साथबाट एउटा कटुवा पेस्तोल र २ वटा गोली बरामद भएको छ ।
सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार आइतबार यादव नेतृत्वको समूहले अन्य १० जना कैदीबन्दीलाई कुटपिट गरी कारागार परिसरबाट बाहिर निकालेको पाइएपछि सुरक्षा समितिले कारागारभित्र खानतलासी गरेको थियो । सोही क्रममा हतियार र गोली फेला परेको उनले जानकारी दिए ।
घटनामा संलग्न रहेको आशंकामा नाइके यादवसहित १३ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालेर प्रहरी हिरासतमा राखिएको छ । उनीहरूलाई अन्यत्र सुरक्षित कारागारमा स्थानान्तरण गर्ने तयारी भइरहेको प्रजिअ पौडेलले बताए ।
नाइके यादव पक्राउ परेपछि कारागारभित्र रहेका उनका समर्थकहरूले नाराबाजी गर्दै आगजनी र तोडफोडसमेत गरेको प्रशासनले जनाएको छ । स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन बढाएर कारागार क्षेत्र वरपर कडा सुरक्षा व्यवस्था अपनाइएको छ ।
१ सय ५० जना कैदीबन्दीको क्षमता रहेको सिरहा कारागारमा हाल ४ सय ३७ जना कैदीबन्दी राखिएको छ । क्षमताभन्दा झन्डै ३ गुणा बढी कैदीबन्दी भएपछि कारागारभित्र पटकपटक तनाव र झडपका घटना हुँदै आएका छन् ।
यसअघि गत साउन महिनामा पनि कैदीबन्दीबीच झडप हुँदा १३ जना घाइते भएका थिए । कारागारजस्तो संवेदनशील स्थानभित्र हतियार कसरी प्रवेश गर्यो भन्ने विषयमा गम्भीर अनुसन्धान थालिएको प्रशासनले जनाएको छ । घटनाले कारागार व्यवस्थापन र सुरक्षा संयन्त्रप्रति गम्भीर प्रश्न उठाएको छ ।