विराटनगर । झापाको निर्वाचन क्षेत्र नम्बर ५ अहिले देशकै सबैभन्दा चासो र तनाव मिसिएको निर्वाचन क्षेत्र बनेको छ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट उम्मेदवार बनेका काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख बालेन्द्र शाह (बालेन) आमनेसामने छन् ।
आगामी निर्वाचनमा ओली–बालेन टक्करले झापा–५ लाई राजनीतिक प्रतिस्पर्धाको केन्द्र मात्रै नभएर सुरक्षा निकायका लागि पनि विशेष चुनौतीपूर्ण क्षेत्रका रूपमा हेरिन थालेको छ । निर्वाचन नजिकिँदै जाँदा वातावरण उत्साह र आशंकाको मिश्रणमा रुमलिएको छ ।
सो क्षेत्रका मतदातामा अहिले एउटै प्रश्न घुमिरहेको छ, ‘साँच्चै चुनाव शान्तिपूर्ण हुन्छ त ?’ यति ठूलो अनिश्चितता र हल्ला पहिले कहिल्यै नसुनेको स्थानीय अनुभव छ । शक्तिशाली उम्मेदवारमध्ये कुनै १ ले हार्ने स्थिति आयो भने ठूलो झडप, दुर्घटना वा मानवीय क्षति हुने र त्यसैको बहानामा चुनाव स्थगित हुने चर्चाले बजार, चिया पसल र टोलटोलमा छ ।
अनआवश्यक हल्लाले सर्वसाधारणमा त्रासको वातावरण सिर्जना गरेको छ । मनमा गहिरो त्रास बोकेका मतदाता चुनाव त हुन्छ ? भन्ने आशंका पालेर बसिरहेका छन् । माघ ६ गते मनोनयन दर्ताकै दिन दमकमा एमाले र रास्वपाका कार्यकर्ताबीच भएको झडपले वातावरणलाई सुरुदेखि नै तनावपूर्ण बनाइदियो ।
मनोनयन दर्ताका लागि निर्वाचन कार्यालयतर्फ जाँदै गर्दा २ पक्षबीच धकेलाधकेल र कुटाकुट भयो । त्यही दिन सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा भिडियोले झन् आगोमा घिउ थप्ने काम गर्यो । जहाँ बालेनलाई गोली हान्नुपर्ने जस्ता आपत्तिजनक संवाद सुन्न सकिन्थ्यो ।
उक्त भिडियो एउटा फेसबुक आइडीबाट पोस्ट भएको थियो । त्यसपछि बालेनले सार्वजनिक रूपमा सुरक्षा खतरा महसुस गरेका थिए । यही घटनापछि झापा–५ मा सुरक्षा चिन्ता आम जनमानसमा गहिरिँदै गएको हो ।
झापा–५ लाई ‘विशिष्ट’ क्षेत्र मान्दै सुरक्षा व्यवस्था कडा बनाइएको कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी विनोद घिमिरे बताउँछन् । ‘२ जना ‘भावी प्रधानमन्त्री’का रूपमा हेरिएका उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । त्यसैले सामान्य क्षेत्रभन्दा बढी सतर्कता अपनाउनु स्वाभाविक हो,’ घिमिरे भन्छन्, ‘चुनाव हुँदैन भन्ने हल्ला त निर्वाचनको मिति घोषणा भएको दिनदेखि नै चलिरहेको थियो । तर, प्रक्रिया निकै अगाडि बढिसकेको अवस्थामा चुनाव स्थगित हुने कुनै आधार छैन ।’
उनले झापा–५ लाई अतिसंवेदनशील क्षेत्र मानेर सुरक्षा निगरानी उच्च बनाउँदै ‘हाई अलर्ट’मा राखिएको बताए । झापा–५ मा १ जना डीएसपी र २ जना इन्स्पेक्टरको नेतृत्वमा ठूलो संख्यामा नेपाल प्रहरी परिचालन गरिएको छ ।
सादा पोसाकका प्रहरीहरू सूचना संकलन र सम्भावित जोखिम पहिचानका लागि सक्रिय छन् । प्रविधिको प्रयोग बढाइएको छ भने संवेदनशील स्थानहरूलाई चौबिसै घण्टा निगरानीमा राखिएको छ । ‘चुनाव बिथोल्न खोज्ने तत्वहरू को–को हुन् ? उनीहरूको गतिविधि के छ ? सबै सूचना हामीसँग छ,’ डीआईजी घिमिरे भन्छन् । उनका अनुसार चुनाव विरोधी समूह र चुनाव हुँदैन भनेर हल्ला फैलाउनेहरुलाई निरन्तर निगरानीमा राखिएको छ ।
चुनाव नजिकिँदै गर्दा कुनै पनि अप्रिय घटना हुन नदिने गरी सुरक्षा व्यवस्था मिलाएर सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको उनले बताए । सुरक्षा व्यवस्थाको कडाइ यतिमा सीमित छैन । कुकुरसहितको गस्ती र सघन चेकजाँच तीव्र पारिएको छ । धरानस्थित केनाइन शाखाबाट तालिमप्राप्त कुकुरसहितको टोली परिचालन गरिएको छ ।
कुकुर परिचालन गरेर विस्फोटक पदार्थ, लागुऔषध र अन्य अवैध सामग्रीको खोजी गर्ने काम तीव्र पारिएको छ । दमक बसपार्क, ताराबारी, हबल्दार चोकजस्ता भिडभाड र सीमा क्षेत्र मानिएका स्थानहरूमा विशेष ध्यान दिइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पैदलयात्री, सार्वजनिक तथा निजी सवारीसाधन र सर्वसाधारणको आवतजावत र ‘मुभमेन्ट’लाई सूक्ष्म निगरानीमा राखिएको छ । सम्भावित जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाइएको डीआईजी घिमिरको भनाइ छ ।
चुनाव नजिकिँदै जाँदा राजनीतिक दलहरू स्वयं पनि चिन्तित देखिन्छन् । दमकमा आयोजित सर्वदलीय छलफलमा विभिन्न दलका प्रतिनिधिहरूले विगतमा घर र सरकारी कार्यालय जलाउने गतिविधिमा संलग्न व्यक्तिहरू अहिले चुनावी अभियानमै सक्रिय रहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका थिए । सामाजिक सञ्जालमा उम्मेदवार लक्षित धम्कीपूर्ण अभिव्यक्ति बढ्दै जानुले खतरा अझै बढेको उनीहरूको भनाइ छ ।
घरदैलो अभियानसमेत झडपको सम्भावित कारणका रूपमा हेरिएको छद। ओली र बालेन दुवैको चुनावी गतिविधि मुख्यतः कमल गाउँपालिका र वरपर केन्द्रित छ ।
१ दिन ओली पुगेको ठाउँमा भोलिपल्टै बालेन पुग्ने गर्छन् । २ पक्षका समर्थकबीच जम्काभेट हुँदा नाराबाजी, हातहालाहाल र मुठभेड हुनसक्ने प्रहरीको आकलन छ । यही कारण सुरक्षा निकायले कार्यक्रमको तालिका, रुट र समयमाथि समेत सूक्ष्म निगरानी गरिरहेको छ ।
झापा–५ को चुनावी मैदानमा ओली र बालेन मात्र छैनन् । नेपाली कांग्रेसबाट मन्धरा पौड्याल, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट रञ्जित तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट लक्ष्मीप्रसाद संग्रौलासहित २४ जना उम्मेदवार मैदानमा छन् ।
सबै उम्मेदवार आआफ्नो रणनीतिसहित मतदाता भेटघाटमा व्यस्त छन् । तर, चर्चा, भिड र सुरक्षा चिन्ताको केन्द्र भने ओली–बालेनकै प्रतिस्पर्धा बनेको छ । चुनावी प्रतिस्पर्धा तीव्र बन्दै जाँदा सुरक्षा निकायका लागि झापा–५ अतिसंवेदनशील र चुनौतीपूर्ण बन्दै गएको छ ।
प्रहरी प्रशासन भने सबैखाले हल्ला र त्रासलाई निराधार भन्दै ढुक्क भएर मतदानमा सहभागी हुन सर्वसाधारणलाई आग्रह गरिरहेको छ । झापा–५ मा चुनाव शान्तिपूर्ण ढंगले सम्पन्न गराउनलाई कुनै कसर बाँकी नराखिने प्रहरीको भनाइ छ ।