विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणतर्फ प्रवेश गर्दै गर्दा निर्वाचन आयोगले ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रमा प्रयोग हुने मतपत्रको छपाइ कार्य सम्पन्न गरेको छ ।
आयोगका अनुसार हालसम्म ती जिल्लाका सबै मतपत्र छापिसक्नुका साथै प्याकिङसमेत पूरा भइसकेको छ । मतपत्र छपाइको काम भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा भइरहेको छ ।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीका अनुसार सोमबारसम्म कुल १ करोड २२ लाख ५६ हजार मतपत्र छपाइ भइसकेको छ । छापिएका मतपत्र सुरक्षित रूपमा बाकसमा प्याक गरी ढुवानीका लागि तयारी अवस्थामा राखिएको जानकारी दिए ।
आयोगका अनुसार हिमाली तथा दुर्गम जिल्ला डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सल्यान र सुर्खेतका लागि आवश्यक मतपत्र छपाइ सम्पन्न भइसकेको छ । त्यसैगरी बाजुरा, अछाम, बझाङ, डोटी, डडेलधुरा, दार्चुला, बैतडी, कैलाली र कञ्चनपुरजस्ता सुदूरपश्चिमका जिल्लाको मतपत्र पनि छापिइसकेको छ ।
पूर्वी पहाडी तथा तराई क्षेत्रतर्फ पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुंगा, सुनसरी, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ र धनकुटाका लागि मतपत्र छपाइ पूरा भएको आयोगले जनाएको छ । त्यस्तै झापा, मोरङ र उदयपुरजस्ता जनघनत्व बढी भएका जिल्लाका मतपत्र पनि छपाइ भइसकेका छन् ।
मध्य र पश्चिम पहाडी क्षेत्रमा बागलुङ, गुल्मी, गोरखा, म्याग्दी, पर्वत, मुस्ताङ, लमजुङ, तनहुँ र स्याङ्जाका मतपत्र छापिसकिएको छ भने तराई क्षेत्रअन्तर्गत बर्दघाट सुस्ता पश्चिम (नवलपरासी) र बर्दियाको मतपत्र छपाइ पनि सम्पन्न भइसकेको आयोगले जनाएको छ । हालसम्म ४४ जिल्लाको मतपत्र छपाइ सकिएको हो ।
छापिएका मतपत्रलाई सुरक्षित रूपमा बाकसमा राख्ने कामसमेत भइसकेको छ । आयोगका अनुसार हालसम्म १० हजार ७ सय ५९ बाकस मतपत्र प्याकिङ भइसकेको छ । बाकसहरू सम्बन्धित जिल्लातर्फ ढुवानीका लागि तयारी अवस्थामा राखिएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक र प्रत्यक्ष दुवै निर्वाचन प्रणालीअन्तर्गत प्रयोग हुने मतपत्र छपाइ प्रक्रिया गत पुस २२ गतेदेखि सुरु गरिएको थियो । पहिलो चरणमा १० लाख ९८ हजार २ सय थान नमुना मतपत्र छपाइ गरी विभिन्न जिल्लामा पठाइसकिएको आयोगले जनाएको छ । जसको प्रयोग मतदाता शिक्षा तथा तालिमका लागि गरिँदै आएको छ ।
समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ पुस २६ गतेदेखि सुरु गरिएको थियो । आयोगका अनुसार माघ १३ गतेसम्म २ करोड ८ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न गरी प्याकिङ, रुजु तथा ढुवानीको तयारी पूरा गरिएको छ ।
प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ भने कुल २ करोड ३ लाख २३ हजार मतपत्र छाप्नुपर्ने छ । सो प्रणालीअन्तर्गतको मतपत्र छपाइ माघ १६ गते बिहानदेखि सुरु भएको हो ।
निर्वाचनको मिति नजिकिँदै जाँदा मतपत्र छपाइ, प्याकिङ र ढुवानीजस्ता प्राविधिक काम समयमै सम्पन्न गर्नु चुनौतीपूर्ण भए पनि हालसम्मको प्रगति सन्तोषजनक रहेको आयोगको भनाइ छ । आयोगले बाँकी जिल्लाका मतपत्र छपाइ तथा व्यवस्थापन कार्य पनि निर्धारित समयसीमाभित्रै सम्पन्न गर्ने दाबी गरेको छ ।