निर्वाचन प्रहरीलाई फिल्डमा खटाइँदै

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि तयार गरिएका निर्वाचन प्रहरी (म्यादी प्रहरी)लाई आज (बुधबार)देखि फिल्डमा खटाइँदैछ ।

मतदानस्थलको सुरक्षा जिम्मेवारी सम्हाल्ने गरी उनीहरुलाई फिल्डमा खटाइने भएको हो । फिल्डमा म्यादी प्रहरीले नेपाल र सशस्त्र प्रहरीसँग समन्वय गरेर काम गर्ने छ । निर्वाचन प्रहरीको भर्ना र छनोट प्रक्रियापछि १० दिनको तालिम पूरा भइसकेको छ ।

१ लाख ४९ हजार निर्वाचन प्रहरी अब नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीसँगै खटिने भएका हुन् । यसमध्ये नेपाल प्रहरीले १ लाख ३३ हजार ९ सय ८० र सशस्त्र प्रहरी बलले १५ हजार १ सय १० जना निर्वाचन प्रहरीलाई माघ १८ मा नियुक्तिपत्र प्रदान गरेको थियो ।

नेपाल प्रहरी र निर्वाचन प्रहरीले मतदानस्थलको भित्री सुरक्षा घेरा सम्हाल्नेछन् भने दोस्रो तहको सुरक्षा जिम्मेवारी सशस्त्र प्रहरी बलले लिनेछ । नेपाली सेनाले बाहिरी सुरक्षा घेरामा रहँदै समग्र सुरक्षा व्यवस्थाको निगरानी गर्नेछ ।

चुनाव लक्षित सुरक्षाका लागि माघ २१ गतेदेखि नेपाली सेना परिचालन भइसकेको छ । निर्वाचन प्रहरीको फिल्डमा खटाइले मतदानस्थलमा थप सुरक्षा सुनिश्चित हुने अपेक्षा गरिएको छ ।