विराटनगर। आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले देशव्यापी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
आयोगले मतदान प्रक्रियालाई सहज, सरल बनाउने र बदर हुने मत प्रतिशत घटाउने उद्देश्यले फागुन ३ देखि १७ गतेसम्म कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । यस अन्तर्गत देशभरका ७ सय ५३ वटै पालिकाका ६ हजार ७ सय ४३ वटा वडामा १–१ जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिनेछ ।
स्वयंसेवकहरूले मतदाताको घर र बस्तीमा पुगेर नमुना मतपत्रद्वारा मतदान प्रक्रिया, चुनावको महत्व र मतदान गर्ने तरिकाबारे जानकारी दिने कार्यक्रम तय गरिएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
आयोगले कार्यक्रमलाई सफल बनाउन ७ वटै प्रदेश सरकार, ७ सय ५३ पालिका, राजनीतिक दल, उम्मेदवार र सञ्चार माध्यमसहित सबै सरोकारवालालाई सहयोग गर्न आग्रह गरेको छ । यसले मतदाता सचेतना बढाउँदै निर्वाचनलाई पारदर्शी र समावेशी बनाउने अपेक्षा गरिएको छ ।