विराटनगरमा खसी भन्दै बाख्राको मासु बिक्री

विराटनगर । खसी भन्दै बाख्राको मासु बिक्री गरेको भेटिएपछि विराटनगर महानगरपालिकाले दुई मासु पसलमाथि कारबाही प्रक्रिया अघि बढाएको छ । उपभोक्तालाई झुक्याउँदै खसीको नाममा बाख्राको मासु बिक्री गरेको भेटिएपछि विराटनगरको देवकोटा चोकमा रहेका दुई पसल कारबाहीमा परेका हुन् ।

महानगरको कृषि तथा पशुपंक्षी शाखा र नगर प्रहरीको संयुक्त टोलीले बुधबार छड्के अनुगमन गरेको थियो । अनुगमनका क्रममा खसीको पहिचान चिन्ह नभएको मासु बिक्रीका लागि राखिएको भेटिएपछि परीक्षण गर्दा बाख्राको मासु बिक्री भइरहेको पुष्टि भएको थियो ।

उपभोक्तालाई खसीको मासु भन्दै फरक प्रकृतिको मासु बिक्री गरेको भेटिएपछि गाउँले मिट पसल र खान पसललाई कारबाही प्रक्रिया अघि बढाइएको कृषि तथा पशुपंक्षी शाखाका संयोजक हरिलाल यादवले जानकारी दिए ।

अनुगमन टोलीमा नगर प्रहरी प्रमुख राजन पौडेलसहितको सहभागिता रहेको थियो । अनुगमन टोलीले बिक्रीका लागि राखिएको मासु नष्ट पनि गरेको छ ।

महानगरले मासु व्यवसायीलाई प्रचलित मापदण्ड पालना गर्न तथा उपभोक्तालाई कुनै पनि शंकास्पद गतिविधि देखिए जानकारी गराउन आग्रह गरेको छ ।