कार्यसम्पादन मूल्यांकनमा विराटनगर पहिलो, काठमाडौँ सबैभन्दा कमजोर

विराटनगर । देशका ६ वटा महानगरपालिकाहरूमध्ये कार्यसम्पादन मूल्यांकनमा मोरङको विराटनगर महानगरपालिका उत्कृष्ट बनेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले विभिन्न १७ वटा सूचकलाई आधार मानेर सार्वजनिक गरेको मूल्याङ्कन प्रतिवेदन अनुसार विराटनगर ७८.११ अङ्क प्राप्त गर्दै पहिलो स्थानमा रहन सफल भएको हो ।

यस मूल्याङ्कनमा काठमाडौँ महानगरपालिका भने सबैभन्दा कमजोर देखिएको छ । काठमाडौँले ४४.९७ अङ्क मात्र प्राप्त गरेर छैटौँ स्थानमा चित्त बुझाउनु परेको छ । आयोगले स्थानीय तहहरूको बजेट व्यवस्थापन, खर्चको पारदर्शिता, राजस्व परिचालन र सेवा प्रवाह जस्ता पक्षहरूलाई मुख्य आधार बनाएर यो नतिजा सार्वजनिक गरेको हो ।

दोस्रो स्थानमा रहेको ललितपुर महानगरपालिकाले ७६.३३ प्रतिशत अङ्क पाएको छ भने चितवनको भरतपुर महानगरपालिका ६८.०४ अङ्कका साथ तेस्रो स्थानमा रहेको छ । यस्तै ५८.०४ अङ्क ल्याएर पोखरा महानगरपालिका चौथो स्थानमा रहँदा वीरगञ्ज महानगरपालिकाले ५४ अङ्क प्राप्त गर्दै पाँचौँ स्थान सुरक्षित गरेको छ ।