विराटनगर । कोशी राजमार्गअन्तर्गत सुनसरीको दुहबी नगरपालिका–८ जुटमिलअगाडि २ वटा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
दुहबी–८ स्थित फलाम फ्याक्ट्रीबाट कोशी राजमार्गमा निस्किएर दुहबी बजारतर्फ आउँदै गरेको को २७ प ८१३४ नम्बरको मोटरसाइकल र खनारबाट दुहबीतर्फ नै आउँदै गरेको प्र १–०२–०५२ प ३०५९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर शुक्रबार दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परेर ३०५९ नम्बरको मोटरसाइकलको पछाडि सवार सप्तरी फलहाराका ४९ वर्षीय तीर्थ यादवको मृत्यु भएको छ ।
सप्तरी घर भई सुनसरीको इटहरी उपमहानगरपालिका–१३ स्थित रिलायन्स फ्याक्ट्रीको क्वार्टरमा बस्दै आएका यादवको उपचारका क्रममा मोरङको बुढीगंगास्थित विराट शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीको भनाइ छ । दुवै मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।
प्रहरीका अुनसार ८१३४ नम्बरको मोटरसाइकल सुनसरीको दुहबी–८ का ४५ वर्षीय सुमन राई र अर्को मोटरसाइकल सप्तरीको रुपनी गाउँपालिका–३ घर भई इटहरी–१३ को रिलायन्स फ्याक्ट्रीको क्वार्टरमा बस्दै आएका ४७ वर्षीय जयनारायण साहले चलाएका थिए । ३०५९ नम्बरको मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।