मतपत्र छपाइ अन्तिम चरणमा, अब १४ जिल्लाको मात्रै बाँकी

विराटनगर । आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको छ ।

निर्वाचन आयोगका अनुसार देशभरका ७७ जिल्लामध्ये ६३ जिल्लाका १ सय ३३ निर्वाचन क्षेत्रका लागि मतपत्र छपाइ सम्पन्न भइसकेको छ । अब काठमाडौं उपत्यका आसपासका १४ जिल्लाको मात्रै मतपत्र छपाइ बाँकी रहेको छ । आयोगले बाँकी काम पनि ३ दिनभित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा नियमित रूपमा मतपत्र छपाइ भइरहेको छ । आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार हालसम्म १ करोड ७१ लाख ६३ हजार थान मतपत्र छापिइसकेको छ । छपाइको काम पुस २२ गतेबाट सुरु गरिएको थियो । हाल दैनिक रूपमा ११ लाखदेखि १५ लाखसम्म मतपत्र छाप्ने काम भइरहेको छ ।

आयोगका अनुसार पहिलो चरणमा १० लाख ९८ हजार २ सय नमूना मतपत्र छापेर सम्बन्धित जिल्लाहरूमा पठाइसकिएको थियो । त्यसपछि दोस्रो चरणअन्तर्गत २ करोड ८ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न गरिएको छ । छापिएका मतपत्रको प्याकिङ, रुजु तथा सुरक्षात्मक जाँच प्रक्रिया पूरा गरी ढुवानीका लागि तयारी अवस्थामा राखिएको आयोगले जनाएको छ ।

प्रत्यक्षतर्फको निर्वाचनका लागि मात्रै २ करोड ३ लाख २३ हजार मतपत्र आवश्यक पर्ने अनुमान आयोगको छ । हालसम्म डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुमपश्चिम, सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी र डडेल्धुरा लगायतका जिल्लाको मतपत्र छपाइ सम्पन्न भइसकेको छ ।

त्यसैगरी दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुंगा, सुनसरी, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत, नवलपरासी (बर्दघाट सुस्तापश्चिम) र मोरङ जिल्लाका लागि आवश्यक मतपत्र पनि छपाइ सम्पन्न भएको आयोगले जानकारी दिएको छ ।

यसैगरी उदयपुर, मुस्ताङ, लमजुङ, तनहुँ, स्याङ्जा, बर्दिया, रुकुमपूर्व, दाङ, बाँके, नवलपरासी (बर्दघाट सुस्तापूर्व), पाल्पा, अर्घाखाँची, प्यूठान, रुपन्देही, रोल्पा, मनाङ, रामेछाप, सिन्धुली, रसुवा, सिन्धुपाल्चोक, कास्की, कपिलवस्तु, दोलखा, नुवाकोट र काभ्रेपलाञ्चोक गरी कुल ६३ जिल्लाको मतपत्र छपाइ कार्य सम्पन्न भइसकेको छ ।

आयोगका अनुसार हालसम्म १५ हजार ३ सय ७१ बाकस मतपत्र प्याकिङ गरिसकिएको छ । दैनिक रूपमा करिब १ हजार बाकस मतपत्र प्याकिङ भइरहेको छ । छापिएका मतपत्रलाई सुरक्षात्मक मापदण्ड पूरा गर्दै वर्गीकरण गरी सम्बन्धित जिल्लातर्फ पठाउने तयारी तीव्र पारिएको छ ।

आयोगले कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी सुरु गरिसकेको छ । सल्यान, रुकुमपश्चिम, डोल्पा, मुगु, हुम्ला, कालिकोट, जुम्ला, जाजरकोट, दैलेख र सुर्खेत जिल्लामा पर्ने निर्वाचन क्षेत्रहरूमा मतपत्र पठाउने काम सुरु भइसकेको सहायक प्रवक्ता न्यौपानेले जानकारी दिए । दुर्गम भौगोलिक अवस्थालाई ध्यानमा राख्दै ती जिल्लामा समयमै मतपत्र पुर्‍याउने उद्देश्यले ढुवानीलाई प्राथमिकता दिइएको आयोगको भनाइ छ ।

आयोगले छपाइदेखि प्याकिङ र ढुवानीसम्मका सम्पूर्ण प्रक्रिया सुरक्षा निकायको समन्वयमा सञ्चालन गरिरहेको छ । मतपत्र छपाइमा प्रयोग हुने कागज, सुरक्षा चिन्ह, क्रमसंख्या र रंगसम्बन्धी प्राविधिक मापदण्ड कडाइका साथ पालना गरिएको आयोगले स्पष्ट पारेको छ । छपाइ स्थलमा अनधिकृत प्रवेश निषेध गरिएको छ भने सीसीटीभी निगरानी र सुरक्षाकर्मीको उपस्थितिमा काम भइरहेको छ ।

अब बाँकी छपाइ सकिएपछि सबै जिल्लामा मतपत्र ढुवानी गरिसक्ने आयोगको तयारी छ । निर्वाचनको मिति नजिकिँदै जाँदा आयोगले प्राविधिक र प्रशासनिक तयारीलाई अन्तिम रूप दिँदै लगेको जनाएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउन मतपत्र व्यवस्थापनलाई सबैभन्दा संवेदनशील कार्यका रूपमा लिइएको छ । छपाइदेखि मतदान केन्द्रसम्म पुर्‍याउने सम्पूर्ण प्रक्रियामा कुनै त्रुटि नहोस् भन्ने उद्देश्य आयोगको छ ।