बिर्तामोडमा लागुऔषधसहित ४ जना पक्राउ

विराटनगर । झापाको बिर्तामोडमा लागुऔषध ब्राउन सुगरको कारोबार गरिरहेको अवस्थामा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ। बिर्तामोड नगरपालिका-२ कछुबारीस्थित गोविन्द बस्नेतको घरमा लागुऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बिर्तामोड र लागुऔषध ब्युरो काँकडभिट्टाको संयुक्त टोलीले उनीहरूलाई शुक्रबार दिउँसो पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा बिर्तामोड-९ का ४२ वर्षीय तिलक बुढाथोकी, बिर्तामोड-२ का ४२ वर्षीय गोविन्द बस्नेत, बिर्तामोड-३ का ५२ वर्षीय टंक गिरी र बिर्तामोड-४ का २८ वर्षीय उदय साह रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट प्लास्टिकबाहेक ८ ग्राम ४४० मिलिग्राम ब्राउन सुगर, ३ वटा मोबाइल, नगद ६ हजार रुपैयाँ र २५ हजार रुपैयाँको काटेको चेक बरामद गरेको छ। पक्राउ परेकाहरूमाथि इलाका प्रहरी कार्यालय बिर्तामोडले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले बताएको छ।