महाशिवरात्री पर्व मनाइँदै

विराटनगर। हिन्दु धर्मावलम्बीहरूको महान् पर्व महाशिवरात्री आज (आइतबार) देशभर श्रद्धा, भक्ति र उल्लासका साथ मनाइँदै छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई भगवान् शिवको अत्यन्त प्रिय र पवित्र पर्वका रूपमा लिने गरिन्छ ।

धार्मिक ग्रन्थहरूमा उल्लेख भएअनुसार यस दिन उपवास, ध्यान, जप र पूजाअर्चना गरेमा मनोकामना पूरा हुनुका साथै मृत्युपछि शिवलोक प्राप्त हुने विश्वास रहिआएको छ । पुराणहरूमा वर्णन गरिएअनुसार शिवरात्री भगवान् शिव प्रकट भएको रातको स्मरणमा मनाइने पर्व हो ।

कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री गरी ४ प्रमुख रात्रीमध्ये शिवरात्री विशेष महत्त्व दिइएको छ । यस दिन ‘ऊँ नमः शिवाय’ मन्त्र जप, निर्जल व्रत, रात्री, जागरण तथा ४ प्रहरको पूजा गर्ने परम्परा छ ।

प्रत्येक प्रहरमा जल, दूध, दही, घिउ, मह र बेलपत्र अर्पण गरी शिवलिंगमा दुग्धाभिषेक गरिन्छ । शिवपुराण र लिंगपुराणमा यस व्रतलाई सबै वर्ण, आश्रम, स्त्री–पुरुष तथा बालबालिकाले श्रद्धापूर्वक गर्नुपर्ने उत्तम धर्मसाधनका रूपमा व्याख्या गरिएको छ ।

शिवरात्रीका दिन बिहानैदेखि पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको ठूलो भिड लागेको छ । स्वदेश तथा भारतबाट आएका साधुसन्तहरूको उल्लेखनीय उपस्थिति देखिएको छ भने मन्दिर क्षेत्रमा विशेष मेला लागेको छ । यस्तै डोलेश्वर महादेव मन्दिर, देवघाट धाम र हलेसी महादेव मन्दिर लगायत देशभरका शिव मन्दिरहरूमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

यस वर्ष महाशिवरात्रीका अवसरमा कम्तीमा ८ लाख दर्शनार्थीले पशुपतिनाथको दर्शन गर्ने अनुमान गरिएको छ । करिब ४ हजार साधुसन्तको उपस्थिति रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। दर्शनलाई सहज बनाउन बिहान ४ बजेदेखि मन्दिरका ४ वटै ढोका खुला गरिएको छ भने ४ छुट्टाछुट्टै लाइनमार्फत दर्शनको व्यवस्था मिलाइएको छ ।

सुरक्षा व्यवस्थापनलाई विशेष प्राथमिकता दिँदै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र ट्राफिक प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ । भिड नियन्त्रण, हराएका व्यक्तिको खोजी, आपत्कालीन उद्धार तथा शंकास्पद गतिविधि निगरानीका लागि सिसीटिभी क्यामेराको सहयोग लिइने छ । प्रहरीको मोबाइल गस्ती बढाइएको छ । ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति तथा विशिष्ट अतिथिका लागि छुट्टै लाइनको व्यवस्था गरिएको छ भने खानेपानी, शौचालय, विश्रामस्थल र प्राथमिक उपचार केन्द्रको व्यवस्था पनि छ ।

कोषले श्रद्धालुहरूलाई धैर्यतापूर्वक लाइनमा बसी दर्शन गर्न, सरसफाइमा सहयोग गर्न र सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरेको छ । धार्मिक आस्था र सुव्यवस्थित व्यवस्थापनका बीच यस वर्षको महाशिवरात्री पर्व शान्त र सभ्य रूपमा सम्पन्न गर्ने तयारी छ ।