विशेष समारोहसहित २६३ औँ सेना दिवस मनाइँदै

विराटनगर। नेपाली सेनाले आफ्नो स्थापना दिवसका रूपमा मनाउँदै आएको सेना दिवस यस वर्ष २६३औँ वार्षिकोत्सवका रूपमा विविध कार्यक्रमसहित मनाउँदैछ ।

महाशिवरात्रीको अवसरसँग जोडिएको यो दिवस सैनिक परम्परा, इतिहास र समकालीन भूमिकालाई एकसाथ स्मरण गर्ने दिनका रूपमा स्थापित हुँदै आएको हो । आज (आइतबार) काठमाडौंको निक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्य रहने छ ।

समारोहमा शिवरात्री बढाइँ, सैनिक परेड, तोप बढाइँ, कवाज तथा विभिन्न सैनिक कला प्रदर्शन गरिनेछ । साथै सांस्कृतिक झाँकी र प्रस्तुतिमार्फत सेनाको इतिहास, परम्परा र समकालीन भूमिकालाई प्रस्तुत गरिने छ । नेपाली सेनाले महाशिवरात्रीको दिनलाई सेना दिवसका रूपमा मनाउने परम्परा ऐतिहासिक रूपमा स्थापित छ ।

राष्ट्रिय सुरक्षाको प्रमुख जिम्मेवारी वहन गर्दै आएको सेनाले यस अवसरलाई औपचारिक उत्सवका रूपमा मात्र नभई संस्थागत अनुशासन, कर्तव्यनिष्ठा र समर्पणको पुनःस्मरणका रूपमा पनि लिँदै आएको छ । सैनिक मञ्चमा हुने औपचारिक समारोहका अतिरिक्त देशभरका पृतना, बाहिनी, गण र गुल्मस्तरमा समेत विभिन्न कार्यक्रम आयोजना गरिँदैछन् ।

विदेशस्थित कूटनीतिक नियोग र संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा खटिएका नेपाली सेनाका टोलीहरूले पनि आआफ्नो कार्यक्षेत्रमा विशेष कार्यक्रम गरी दिवस मनाइरहेको सैनिक प्रवक्ता राजाराम बस्नेतले जानकारी दिएका छन् । नेपाली सेनाको वर्तमान संगठनात्मक स्वरूपको सुरुआत विक्रम संवत १८१९ सालदेखि भएको मानिन्छ ।

त्यसयता विभिन्न ऐतिहासिक कालखण्डमा सेनाले नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता र सार्वभौमसत्ताको रक्षा गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । राष्ट्र निर्माणको प्रारम्भिक चरणदेखि नै सैनिक वीरपुर्खाहरूको साहस, वीरता र बलिदानले नेपाल राष्ट्रको एकीकरण र संरक्षणमा निर्णायक योगदान पुर्‍याएको इतिहासमा उल्लेख छ ।

संविधानले राष्ट्रिय एकता, भौगोलिक अखण्डता र सार्वभौमसत्ताको रक्षा गर्ने जिम्मेवारी नेपाली सेनालाई दिएको छ । यही संवैधानिक दायित्वअनुसार सेनाले आफ्नो भूमिकालाई स्पष्ट कार्यदिशाका साथ अघि बढाउँदै आएको छ ।

संगठनभित्र अनुशासन, ‘चेन अफ कमान्ड’को कठोर पालना र राजनीति निरपेक्ष चरित्रलाई संस्थागत संस्कारका रूपमा स्थापित गरिएको छ । यही कारण सेनाले राज्यका अन्य निकायहरूसँग समन्वय गर्दै राष्ट्रिय सुरक्षाका विषयमा सन्तुलित र जिम्मेवार उपस्थिति जनाउँदै आएको देखिन्छ ।

प्राकृतिक विपद्, महामारी तथा आपतकालीन अवस्थाहरूमा पनि नेपाली सेनाको सक्रियता उल्लेखनीय रहँदै आएको छ । भूकम्प, बाढीपहिरो, हिमपहिरो, आगलागी तथा उद्धार कार्यमा सेनाले देखाएको तत्परता र संयमले नागरिकस्तरमा विश्वास थप बलियो बनेको छ । विपद् व्यवस्थापनमा प्राविधिक क्षमता विस्तार, तालिम र उपकरण सुदृढीकरणमार्फत सेनाले आफ्नो भूमिकालाई समयानुकूल परिमार्जन गर्दै लगेको छ ।

अन्तर्राष्ट्रियस्तरमा पनि नेपाली सेनाले विश्वसनीय र भरपर्दो फौजको छवि बनाएको छ । संयुक्त राष्ट्रसंघीय शान्ति स्थापनार्थ सञ्चालन हुने विभिन्न मिसनमा नेपाली सैनिकहरूको उल्लेखनीय सहभागिता रहँदै आएको छ ।

शान्ति स्थापना, द्वन्द्वग्रस्त क्षेत्रमा स्थिरता कायम गर्ने प्रयास तथा मानवीय सहायता कार्यमा नेपाली सेनाको व्यावसायिकता र अनुशासनको प्रशंसा हुने गरेको छ । यसले नेपाललाई विश्व समुदायमा जिम्मेवार राष्ट्रका रूपमा चिनाउन मद्दत पुर्‍याएको विश्लेषण गरिन्छ ।

सैनिक संगठनमा समावेशिताको दायरा पनि पछिल्लो समय विस्तार हुँदै गएको छ । विभिन्न जाति, क्षेत्र र समुदायको सहभागिता बढ्दै गएको छ भने महिलाको उपस्थिति पनि उल्लेखनीय रूपमा वृद्धि भएको छ ।

शान्ति मिसनदेखि लिएर प्राविधिक र नेतृत्व तहसम्म महिलाको सक्रिय भूमिका देखिन थालेको छ । यसले सेनालाई आधुनिक र समावेशी संस्थाका रूपमा रूपान्तरण गर्ने दिशामा सकारात्मक संकेत दिएको छ ।

सेना दिवस औपचारिक उत्सव नभई सैनिक परम्परा, इतिहास र समर्पणको स्मरण गर्ने अवसरका रूपमा स्थापित भएको छ । वीरगति प्राप्त सैनिकहरूको योगदानको सम्मान, वर्तमान सैनिकहरूको मनोबल अभिवृद्धि तथा भावी पुस्तालाई राष्ट्रसेवाप्रति प्रेरित गर्ने सन्देश यस दिवसले प्रवाह गर्दै आएको छ ।

राष्ट्रिय सुरक्षाको संवेदनशील जिम्मेवारी वहन गरिरहेको संस्थाका रूपमा नेपाली सेनाले विगतका उपलब्धि र अनुभवलाई आधार मानेर भविष्यका चुनौती सामना गर्ने तयारीमा रहेको सन्देश पनि यस अवसरमा प्रवाह गरिँदै आएको छ । यस वर्षको २६३औँ सेना दिवस महाशिवरात्रीको धार्मिक र सांस्कृतिक महत्त्वसँगै राष्ट्रिय सुरक्षाको भावनालाई जोडेर मनाइँदैछ ।