नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अझै पनि चुनावका लागि ढुक्कको वातावरण बनी नसकेको बताएका छन् । आइतबार भद्रपुर विमानस्थलमा अध्यक्ष ओलीले पार्टी चुनावको तयारीमा लागिरहेको तर ढुक्कको वातावरण बनी नसकेको बताएका हुन् ।
यसबारेमा सरकारले धेरै कुरा जान्नुपर्ने ओलीको भनाइ छ । ‘चुनाव हुने भयो भने हामी भाग लिन्छौ, चुनावको वातावरण त यसै भन्न सकिन्न अझै पनि ।’ यद्यपि, उनले अब चुनाव हुन्छ भन्ने आफूले ठानेको बताए ।
यसअघि अध्यक्ष ओलीले झापा क्षेत्र नं. ५ का कमल, गौरादह तथा गौरीगञ्जका विभिन्न टोलमा पुगेर मतदाताहरूसँग भेट गरेका थिए । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि झापा क्षेत्र नं। ५ बाट उम्मेदवार रहेका पूर्व प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओली २०४८ सालको निर्वाचन देखिनै यही भूगोलबाट निर्वाचित हुँदै आएका छन् । सकेसम्म झापा ५ नम्बर निर्वाचन क्षेत्रका सबै मतदातासँग भेट्ने आफ्नो तयारी रहेको ओलीको भनाइ छ ।