निर्वाचन आचारसंहिता उल्लंघन: विद्यालयमा ओलीको चुनावी कार्यक्रम

विराटनगर । नेकपा (एमाले) का अध्यक्ष एवं झापा निर्वाचन क्षेत्र नं. ५ का उम्मेदवार केपी शर्मा ओलीले निर्वाचन आचारसंहिता विपरीत विद्यालय परिसरमा राजनीतिक कार्यक्रम गरेका छन्। पूर्वप्रधानमन्त्री समेत रहेका ओली आइतबार दमक नगरपालिका–२ स्थित हिमालय माध्यमिक विद्यालयमा आयोजित चुनावी प्रचारप्रसार र अन्तक्रिया कार्यक्रममा सहभागी भए।

नेपाल राष्ट्रिय शिक्षक संगठनले आयोजना गरेको उक्त कार्यक्रममा ‘पूर्वप्रधानमन्त्रीसँग अन्तक्रिया’ लेखिएको ब्यानर राखिएको थियो। विद्यालयमा राजनीतिक गतिविधि गराउन सोही विद्यालयका प्रधानाध्यापक द्रोण श्रेष्ठ र व्यवस्थापन समिति अध्यक्ष रोमनाथ ओलीले मुख्य भूमिका खेलेको देखिन्छ। श्रेष्ठ एमाले निकट शिक्षक संगठनका पूर्वअध्यक्ष हुन् भने ओली एमालेका केन्द्रीय सदस्य हुन्।

निर्वाचन आचारसंहिता २०८२ ले विद्यालय र शिक्षकहरूका लागि स्पष्ट सीमा तोकेको छ। आचारसंहिताको दफा ४ (ग) अनुसार सरकारी वा सार्वजनिक विद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचनसम्बन्धी भेला वा प्रचारप्रसार गर्न पाइँदैन। त्यस्तै दफा १० (ग) र (छ) मा शिक्षक वा कर्मचारीले राजनीतिक दलको पक्षमा भवन प्रयोग गर्न दिन वा प्रचारप्रसार गर्न निषेध गरिएको छ।

कानुनी व्यवस्थाको वास्ता नगरी गरिएको उक्त कार्यक्रममा एमालेका उच्च नेता र शिक्षक संगठनका पदाधिकारीहरूको ठूलो उपस्थिति थियो। कार्यक्रममा संगठनका केन्द्रीय अध्यक्ष हंशबहादुर शाही, महासचिव प्रकाश खनाल, पूर्वअध्यक्ष लक्ष्मण शर्मा, एमाले नेता देवेन्द्र दाहाल र प्रदेश सभा सदस्य होमबहादुर थापा लगायत सहभागी थिए।

शैक्षिक संस्थालाई राजनीतिक अखडा बनाउन नहुने कानुनी प्रावधान भए पनि जिम्मेवार व्यक्तिहरूबाटै यसको उल्लंघन हुनुले निर्वाचनको निष्पक्षतामाथि प्रश्न उठाएको छ।