विराटनगर। विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले महानगरभित्र दर्ता भएका सहकारी संस्थाहरूलाई कानुनी मापदण्डअनुसार सञ्चालन गर्न कडाइ गरिएको बताएका छन्। विगतमा नियमविपरीत र अव्यवस्थित रूपमा चलेका सहकारीलाई नियमन गरी दायरामा ल्याइएको उनले दाबी गरे।
महानगरको सहकारी शाखाद्वारा आयोजित दुईदिने ‘सहकारी सञ्चालन तथा व्यवस्थापन’ तालिमको उद्घाटन गर्दै मेयर कोइरालाले सहकारी क्षेत्रलाई पारदर्शी, उत्तरदायी र सदस्य–केन्द्रित बनाउन महानगर प्रतिबद्ध रहेको स्पष्ट पारे। सहकारीहरू आफ्नै मूल मर्म र भावनाअनुसार चल्नुपर्नेमा उनले जोड दिए।
मेयर कोइरालाका अनुसार निम्न तथा मध्यम वर्गीय परिवारको बचत परिचालन र आयआर्जन वृद्धिमा सहकारी प्रभावकारी माध्यम बन्न सक्छन्। यसका लागि संस्थागत सुशासन, वित्तीय अनुशासन र व्यावसायिक व्यवस्थापन अनिवार्य रहेको उनले औंल्याए।
तालिम कार्यक्रममा महानगरको आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेले सहकारी सञ्चालक र व्यवस्थापकहरूको क्षमता अभिवृद्धिका लागि नियमित रूपमा यस्ता कार्यक्रम भइरहेको जानकारी दिए। व्यवस्थापकहरू सहकारीको कार्यकारी नेतृत्व भएकाले उनीहरूको दक्षता संस्थालाई सही दिशामा लैजान महत्त्वपूर्ण हुने उनको भनाइ छ।
आर्थिक विकास महाशाखा प्रमुख प्रतीक गड्तौला र सहकारी शाखा प्रमुख चाँदनी राईले स्थानीयस्तरमा छरिएको पुँजी र सीपलाई उत्पादनशील क्षेत्रमा लगाउनु नै सहकारीको उद्देश्य भएको बताए। हाल महानगरले सहकारीहरूको नियमित अनुगमन, समीक्षा र अन्तरक्रिया गरिरहेको छ।
यस तालिममा राष्ट्रिय सहकारी बैंकका कोशी प्रदेश प्रमुख चिरञ्जीवि तिम्सिना लगायतका विज्ञहरूले सहजीकरण गरिरहेका छन्। कार्यक्रममा महानगरका विभिन्न सहकारीका ४० जना व्यवस्थापक तथा कर्मचारीको सहभागिता रहेको छ।