धार्मिक पर्यटन प्रवर्द्धनका लागि जनकपुर–अयोध्या सिधा हवाई मार्ग खोल्ने पहल

मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादव ले जनकपुरधाम लाई प्रमुख धार्मिक पर्यटकीय केन्द्रका रूपमा स्थापित गर्न भारतको अयोध्या मा रहेको राम मन्दिरसँग सिधा हवाई सेवा सञ्चालन गर्ने प्रयास भइरहेको जानकारी दिएका छन्। मिथिला मध्यमा परिक्रमाको अवसरमा सोमबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो योजना अघि बढाइएको बताएका हुन्।

मुख्यमन्त्री यादवले उक्त योजनाले मधेस प्रदेशको पर्यटन क्षेत्रमा नयाँ सम्भावना सिर्जना गर्ने विश्वास व्यक्त गरे। प्रदेश सरकारले मधेसलाई रामायण सर्किटसँग जोड्ने उद्देश्यसहित जनकपुर र अयोध्याबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउने रणनीति अघि बढाएको उनको भनाइ थियो।

उनले सीता सर्किट र रामायण सर्किटलाई एकीकृत गर्न सके जनकपुर मात्र नभई सम्पूर्ण मधेस प्रदेशको समग्र विकासमा टेवा पुग्ने र यस क्षेत्रले अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यको रूपमा पहिचान बनाउने विश्वास व्यक्त गरे। योजना कार्यान्वयनका लागि छिट्टै भारत भ्रमण गरी सम्बन्धित निकायहरूसँग समन्वय गर्ने तयारी भइरहेको उनले जानकारी दिए। साथै, यसका लागि सकारात्मक संकेत प्राप्त भइसकेको र प्रक्रिया छिट्टै अघि बढाइने उल्लेख गरे।

मुख्यमन्त्री यादवका अनुसार जनकपुर विमानस्थलको स्तरवृद्धि तथा विस्तारका लागि संघीय सरकारसँग समेत सहकार्य भइरहेको छ। विमानस्थल विस्तार भई अयोध्याबाट सिधा उडान सञ्चालन गर्न सके दैनिक पाँच सयभन्दा बढी भारतीय भक्तजन माता सीताको दर्शनका लागि जनकपुर आउने अपेक्षा गरिएको छ।