जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनी बाट लुटिएको हतियार प्रकरणमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ भने घटनामा संलग्न अर्का एक व्यक्ति अझै फरार रहेका छन्।
जिल्ला प्रहरीका अनुसार आन्दोलनका क्रममा उक्त प्रहरी कार्यालयबाट लुटिएको एक थान ९ एमएमको पेस्तोल र ४० राउन्ड गोलीसहित प्रहरीले सुजय राजवंशी लाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका राजवंशी कनकाई नगरपालिका–८ का २२ वर्षीय युवक रहेको प्रहरीले जनाएको छ।
घटनाबारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय झापा का प्रवक्ता खगेन्द्रबहादुर खड्का ले विशेष सूचनाका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको बताएका छन्। उनका अनुसार स्थानीय तुलबहादुर थापा मगरको घरमा अवैध हातहतियार तथा लागूऔषध लुकाएर राखिएको सूचना पाएपछि प्रहरी टोलीले आइतबार सो घरमा छापा मारेको थियो।
प्रहरीले छापा मार्ने क्रममा तुलबहादुरका २२ वर्षीय छोरा सौगात थापा मगर ले घरपछाडि रहेको कुखुराको खोरभित्र प्लास्टिकको ड्रममा लुकाएर राखिएको अवस्थामा पेस्तोल एक थान र ४० राउन्ड गोली बरामद गरेको जनाएको छ।
प्रहरीले घटनामा संलग्न सौगात हाल फरार रहेको र उनको खोजी कार्य तीव्र बनाइएको जनाएको छ। पक्राउ परेका राजवंशीमाथि भने लुटपाट तथा अवैध हातहतियार सम्बन्धी कसुरमा प्रचलित कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइएको प्रवक्ता खड्काले जानकारी दिएका छन्।
प्रहरीले जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार तथा संलग्न व्यक्तिहरूको खोजी र अनुसन्धानलाई निरन्तर अघि बढाइरहेको जनाएको छ।