मोरङ : नेपाल कम्युनिस्ट पार्टी (एमाले) का तर्फबाट मोरङ जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार मनोज अग्रवालले आज आयोजित पत्रकार सम्मेलनमार्फत आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन्।
घोषणापत्रमा शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि तथा धार्मिक र सांस्कृतिक महत्व बोकेका स्थलहरूको समग्र विकासलाई उच्च प्राथमिकतामा राखिएको उल्लेख गरिएको छ। उम्मेदवार अग्रवालले प्रस्तुत गरेको प्रतिबद्धता पत्रमा नौ वटा मुख्य बुँदामार्फत क्षेत्र नम्बर ५ का अधिकांश विद्यमान समस्याहरू समाधान गर्ने स्पष्ट योजना समेटिएको पार्टीले जनाएको छ।
अग्रवालले भौतिक पूर्वाधार तथा सडक निर्माणलाई प्राथमिक आवश्यकता औंल्याउँदै स्तरीय सडक सञ्जाल विस्तार, पुल–पुलेसा निर्माण तथा ग्रामीण क्षेत्रलाई मुख्य सडकसँग जोड्ने कार्यलाई तीव्रता दिने प्रतिबद्धता जनाए। कृषि सिँचाइ तथा तटबन्धनतर्फ दीर्घकालीन योजना ल्याई किसानलाई वर्षभरि उत्पादनमा सक्षम बनाउने र बाढी नियन्त्रणका उपायहरू अवलम्बन गर्ने उनको भनाइ छ। शिक्षा तथा स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा विस्तार, सामुदायिक विद्यालयहरूको स्तरोन्नति, प्राविधिक शिक्षाको प्रवर्द्धन तथा आधारभूत स्वास्थ्य सेवा सबै नागरिकसम्म पुर्याउने योजना पनि घोषणापत्रमा समेटिएको छ। उद्योग, व्यापार तथा रोजगारी सिर्जनालाई आर्थिक समृद्धिको आधार मान्दै स्थानीय उत्पादनको बजारीकरण, साना तथा मझौला उद्योगलाई प्रोत्साहन र युवालाई स्वरोजगारमुखी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
धार्मिक, सांस्कृतिक तथा पर्यटन क्षेत्रको विकासमार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गरी क्षेत्रको आर्थिक गतिविधि बढाउने लक्ष्यसमेत घोषणापत्रमा उल्लेख छ।
त्यसैगरी शान्ति सुरक्षा, सुशासन र भ्रष्टाचार नियन्त्रणलाई सुदृढ बनाउँदै पारदर्शी प्रशासन सञ्चालन गर्ने, युवा, महिला तथा ज्येष्ठ नागरिकका समस्याको समाधानका लागि विशेष कार्यक्रम ल्याउने र निमुखा तथा अशक्त वर्गलाई न्याय सुनिश्चित गर्ने प्रतिवद्धता पनि अग्रवालले जनाएका छन्। विविध क्षेत्रको प्रवर्द्धन तथा समग्र विकासमार्फत मोरङ–५ लाई नमूना निर्वाचन क्षेत्रका रूपमा स्थापित गर्ने लक्ष्यसहित आफू अघि बढेको अग्रवालको भनाइ छ।