मतपत्र तयार, अब मतदान केन्द्रसम्म पुर्‍याइने

भक्तपुर । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी अन्तर्गत आवश्यक सम्पूर्ण मतपत्र छपाइ कार्य सम्पन्न भएको छ। निर्वाचन प्रयोजनका लागि मतपत्र छपाइको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड ले सोमबार साँझसम्म सबै मतपत्र छपाइ सकेको जनाएको छ।

केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेल का अनुसार निर्वाचनका लागि आवश्यक प्रत्यक्षतर्फका दुई करोड तीन लाख मतपत्र निर्धारित समयभन्दा अगावै छपाइ सम्पन्न गरिएको हो। उनले ४२ दिनको कार्यतालिका बनाएर छपाइ सुरु गरिएको भए पनि ४० दिनमै काम सक्न सफल भएको बताए।

पौडेलले अब मंगलबारदेखि सबै मतपत्र प्याकेजिङ गरी सम्बन्धित प्रदेशहरूमा ढुवानी सुरु गरिने जानकारी दिए। उनका अनुसार छपाइ सम्पन्न भइसकेपछि अब १० दिनभित्र देशभरका सबै जिल्लामा मतपत्र पुर्‍याउने लक्ष्य राखिएको छ।

केन्द्रले छपाइ कार्यका क्रममा दैनिक १३ देखि १५ लाखसम्म मतपत्र उत्पादन गर्दै आएको थियो। यसअघि नै १० लाख नमूना मतपत्र छपाइ गरी निर्वाचन आयोग मार्फत विभिन्न स्थानमा पठाइसकिएको छ।

त्यसैगरी समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतका दुई करोड आठ लाख ३० हजार मतपत्र जिल्लामा पठाउने कार्य पनि भइरहेको केन्द्रले जनाएको छ। पौडेलका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा आवश्यक सबै मतपत्र पुगिसकेको छ भने अन्य प्रदेशमा समेत १० दिनभित्र वितरण सम्पन्न गर्ने गरी काम अघि बढाइएको छ।