स्कुटर चोरीमा संलग्न चार जना पक्राउ, दुई स्कुटर बरामद

काठमाडौँ ।  काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट चोरीका स्कुटरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार कीर्तिपुर र बुढानिलकण्ठ क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार गत फागुन २ गते कीर्तिपुर नगरपालिका–१० गुरुङ टोलमा प्रहरी प्रभाग ट्याङलाफाँटबाट खटिएको टोलीले २४ वर्षीय सन्तोष विष्ट र २२ वर्षीय धर्मेन्द्र खडायतलाई बागमती प्रदेश ०२-०१८ प ७९३६ नम्बरको एनटर्क स्कुटरसहित पक्राउ गरेको थियो। कञ्चनपुर स्थायी घर भएका र हाल शान्तिनगर बस्दै आएका उनीहरूमाथि प्रहरी वृत्त कीर्तिपुरले थप अनुसन्धान गरिरहेको छ।

यसैगरी फागुन ४ गते बुढानिलकण्ठ नगरपालिका–२ वासिक क्षेत्रमा सवारी चेकजाँचका क्रममा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ। भक्तपुरको ठिमी क्षेत्रबाट चोरी भएको बा ६४ प ३७५५ नम्बरको डिओ स्कुटरसहित १८ वर्षीय रबिन परियार र २८ वर्षीय निर्मल परियारलाई नियन्त्रणमा लिइएको हो। उदयपुर घर भई हाल कपन बस्दै आएका उनीहरूमाथि प्रहरीले आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ।