गैरकानुनी आप्रवासन प्रकरण: दुई जनाविरुद्ध मुद्दा दायर

सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) सम्बन्धी कसुरमा दुई जनाविरुद्ध अभियोगपत्र दायर गरिएको छ। रूकुम पश्चिम साविक बाफिकोट गाउँपालिका–२ का स्थायी बासिन्दा तथा हाल काठमाडौं बसोबास गर्दै आएका कलबहादुर बस्नेत र रूकुम पूर्व सिस्ने गाउँपालिका–५ घर भई हाल काठमाडौंमै बस्दै आएका अमित बस्नेतविरुद्ध मुद्दा दायर गरिएको हो।प्रहरीका अनुसार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं मार्फत फागुन ४ गते काठमाडौं जिल्ला अदालत मा आरोपपत्र दर्ता गरिएको हो। यसबारे जानकारी दिँदै प्रहरी उपरीक्षक राजन लिम्बूले उक्त मुद्दा औपचारिक रूपमा अघि बढाइएको बताएका छन्।मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पुर्पक्षका लागि कलबहादुर बस्नेत हाल कारागार कार्यालय डिल्लिबजार मा थुनामा रहेको प्रहरीले जनाएको छ। सोही मुद्दामा अमित बस्नेत भने फरार रहेको सूचना अधिकारी एसपी राजन लिम्बूले बताएका छन्।अनुसन्धानबाट प्रतिवादीहरूले करिब २५० जना नेपाली नागरिकलाई गैरकानुनी बाटो प्रयोग गरी विभिन्न मुलुक हुँदै अमेरिका प्रवेश गराएको खुलेको छ। त्यसैगरी, केही व्यक्तिलाई अमेरिका लैजाने प्रलोभन देखाएर विभिन्न देशमा अलपत्र पारिएको, साथै मानव बेचबिखन, ठगी तथा वैदेशिक रोजगार ठगीसम्बन्धी गतिविधिमा समेत उनीहरू संलग्न रहेको अनुसन्धानबाट देखिएको छ।प्रहरीका अनुसार उक्त गैरकानुनी क्रियाकलापबाट प्राप्त रकम नगद तथा विभिन्न बैंक खातामार्फत शुद्धीकरण गरिएको पाइएको छ। कलबहादुर बस्नेतको नाममा ७० करोड ६० लाख ५३ हजार ७२२ रुपैयाँ ३३ पैसा र अमित बस्नेतको नाममा २७ करोड ४५ लाख २९ हजार ०२८ रुपैयाँ ९४ पैसा गरी कुल ९८ करोड ५ लाख ८२ हजार ७५१ रुपैयाँ २७ पैसा बराबरको बिगो कायम गरिएको जनाइएको छ।उक्त बिगो बराबरको दोब्बर जरिवाना तथा कसुरको प्रकृति र मात्रा अनुसार दुईदेखि १५ वर्षसम्म कैद सजायको माग गरिएको छ। साथै, प्रतिवादीहरूको नाममा दर्ता रहेका घरजग्गा, बैंक मौज्दात तथा बीमा रकम जफत गर्नसमेत अभियोजन पक्षले माग गरेको जनाएको छ।