नमुना विकास क्षेत्र बनाउने प्रतिबद्धता गर्दै यादवद्वारा ३२ बुँदे योजना घोषणा

विराटनगर, ५ फागुन – जनता समाजवादी पार्टी (जसपा) नेपालका मोरङ क्षेत्र नम्बर ५ का उम्मेदवार राजकुमार यादवले ३२ बुँदे चुनावी प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ।

विराटनगर–१४ स्थित रामजानकी मन्दिरमा आयोजित पत्रकार सम्मेलनमार्फत उहाँले औपचारिक रूपमा खुला प्रचार अभियान सुरु गर्दै ६ प्रमुख क्षेत्रलाई आधार बनाएर प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको हो। उहाँले शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पूर्वाधार तथा पर्यटनलाई मुख्य प्राथमिकतामा राख्नुभएको छ।

यादवले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री र प्रतिस्पर्धात्मक बनाउने, प्राविधिक तथा सीपमूलक शिक्षाको माध्यमबाट युवालाई दक्ष बनाउने योजना अघि सार्नुभएको छ। साथै क्षेत्र नम्बर ५ का सबै २४ वटै वडामा प्रभावकारी स्वास्थ्य सेवा विस्तार गर्ने, बन्द उद्योग पुनः सञ्चालन गर्ने तथा नयाँ उद्योग स्थापना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। सहुलियत ऋणमार्फत उद्यमशीलता प्रवर्द्धन गर्ने लक्ष्यसमेत उहाँले उल्लेख गर्नुभएको छ।

कृषि क्षेत्रको विकासका लागि बाँझो जमिनलाई उत्पादनमा ल्याउने, मल, बिउ र सिँचाइको सहज व्यवस्था गर्ने तथा आधुनिक कृषि प्रविधि र यान्त्रीकरण विस्तार गर्ने योजना पनि उहाँको एजेन्डामा समावेश छ। त्यस्तै क्षेत्रका सडक कालोपत्रे गर्ने, पुल निर्माण, ढल व्यवस्थापन, सुरक्षित खानेपानी र विद्युत् विस्तारमा विशेष जोड दिने प्रतिबद्धता उहाँले जनाउनुभयो।

पर्यटन प्रवर्द्धनअन्तर्गत विराट राजाको दरबार संरक्षण तथा सौन्दर्यकरण गरी आन्तरिक र बाह्य पर्यटक भित्र्याउने, रंगेलीस्थित सन्सारीमाई मन्दिर स्तरोन्नति गर्ने तथा पार्क, ताल र पोखरीको विकास गर्ने योजना सार्वजनिक गरिएको छ। भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने, सुकुम्बासीलाई अधिकार, आवास र सम्मान उपलब्ध गराउने तथा क्षेत्र नम्बर ५ लाई विकासको नमूना क्षेत्र बनाउने संकल्प यादवले व्यक्त गर्नुभयो।

यादव दोस्रो संविधानसभा निर्वाचन २०७०, प्रतिनिधिसभा निर्वाचन २०७४, २०७९ र २०८२ गरी चौथो पटक चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ। यसपटक आफू विजयी हुनेमा विश्वस्त रहेको बताउँदै उहाँले अघिल्ला निर्वाचनमा झिनो मतान्तरले पराजित हुनुपरेको स्मरण गर्नुभयो। गठबन्धन नभए पनि यसपटक परिणाम आफ्नो पक्षमा आउने विश्वास उहाँले व्यक्त गर्नुभयो।

विगतमा निर्वाचित जनप्रतिनिधिहरूले क्षेत्र नम्बर ५ मा विकास निर्माण, स्वास्थ्य, शिक्षा, पर्यटन तथा रोजगारीका क्षेत्रमा उल्लेखनीय काम गर्न नसकेको आरोपसमेत उहाँले लगाउनुभयो। आफू निर्वाचनमा पराजित भए पनि स्थानीय बासिन्दाको सुखदुःखमा सधैं साथ दिँदै आएको उहाँको भनाइ छ।

गत माघ ६ गते उम्मेदवारी दर्ता गरेपछि घरदैलो र कार्यकर्ता भेटघाट कार्यक्रम सञ्चालन गरिए पनि निर्वाचन आयोगले तोकेको खुला प्रचार अभियान आजदेखि औपचारिक रूपमा सुरु गरिएको यादवले जानकारी दिनुभयो।

क्षेत्र नम्बर ५ मा जसपा नेपालका यादवसँगै नेपाली कांग्रेसका फुलकुमार लालबानी, एमालेका मनोज अग्रवाल, नेकपाका शिवकुमार मण्डल, राष्ट्रिय ऊर्जाशील पार्टीका निवर्तमान सांसद योगेन्द्र मण्डल तथा राष्ट्रिय स्वतन्त्र पार्टीकी आशा झा लगायत उम्मेदवार प्रतिस्पर्धामा छन्।